काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले संसदीय दलको बैठक बोलाएका छन् । एमाले मुख्य सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ११ बजेका लागि सो बैठक बोलाएका हुन् ।
उनका अनुसार संसदीय दलको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेछ। ‘संसद्को नियमित अधिवेशन चलिरहेको छ। सांसद्लाई कसरी प्रभावकारी रुपमा प्रस्तुत हुने, कसरी दललाई एकढिक्का बनाउने, कसरी संसद्मा समस्या उठाउनेलगायतका एजेन्डामा छलफल गर्न बैठक बोलाइएको हो,' भट्टराईले भने।
तर, माधव समूहले सो बैठक बहिष्कार गर्ने भएको छ । नेपाल समूहका नेता तथा स्थायी कमिटी सदस्य वेदुराम भुसालका अनुसार आफूहरु राष्ट्रिय भेलामा जुटेकाले ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने बताउँदै सो बैठकको कुनै औचित्य नरहेको बताए।
‘हाम्रो भेलालाई असफल पार्न बैठक बोलाउनु भएको होला। त्यसको कुनै औचित्य छैन्। धम्की दिइरहनुभएको छ। त्यसैको निरन्तरता हो,' भुसालले भने।