जेठ ०४, २०८१, शुक्रबार
               

माओवादी पर्ख र हेरकाे अवस्थामा : न एमालेमा लागेकालाई कारबाही न समर्थन फिर्ता

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक निर्णयविहीन सम्पन्न भएकाे छ ।

सर्वोच्चको आदेशपश्चात् ब्यूँतिएको सो दलको पहिलो केन्द्रीय कमिटी बैठक आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडमा लगभग चार घन्टा बसेर सकिएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक स्थिति, पार्टीमाथि भएको आक्रमण, कम्युनिस्ट आन्दोलनलगायत विषयमा ब्रिफिङ गरेका थिए ।

बैठकमा नेकपा एमालेकाे समर्थनमा लागेका २३ जना नेतालाई कारबाही गर्ने चर्चा चले पनि कुनै निर्णय भने गर्न सकेन । शनिबार बसेकाे बैठकले २४ घन्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएकाे थियो । स्पष्टीकरण मागेकाे २४ घन्टा बिते पनि माओवादीले उनीहरुलाई कारबाही गर्ने सम्बन्धमा कुनै निर्णय गर्न सकेन । जसका कारण माओवादीले नेकपा एमालेकाे सरकारलाई दिएको समर्थनले निरन्तरता पाएको छ  ।आइतबारको बैठकले सरकारमा गएकाहरुलाई कारबाही गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिएको थियो ।    

केपी ओलीकाे सरकार ढाल्न नेकपा एक हुँदासमेत लागिपरेका नेता अहिले निर्णयविहीन बनेका हुन् । सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि वा समर्थन गरेकाे दलले समर्थन फिर्ता लिएपछि मात्र अरू कुनै विकल्प हुने वा प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने व्यवस्था छ । एउटै दल हुँदा अविश्वासाको प्रस्ताव दर्ता गर्न संसद सचिवालय पुगेका माओवादीनिकट नेताहरू सर्वोच्चले पूर्ववत् पार्टीमा कायम भएकाे २२ दिन बितिसक्दा पनि निर्णय गर्न नसक्नु अचम्मकाे विषय हाे ।

आइतबारको बैठकमा बाहिर चर्चा भएअनुरुप निर्णय गर्न नसके पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउनुपर्ने आफ्नो धारणा राखे ।  आइतबार बसेको सो दलको बैठकमा राजनीतिक र सांगठानिक अवस्थाबारे प्रदेश इन्चार्जको रिपोर्टिङ भएको छ । बैठकमा प्रदेश १ बाट सावित्रीकुमार काफ्ले, प्रदेश २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती मगर, कर्णालीबाट मायाप्रसाद शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले धारणा राखेका थिए ।

त्यस्तै, विदेश विभागका युवराज चौलागाईं, जनसंगठनबाट प्रल्हाद बुढाथोकी, विशेष कमिटीबाट लीलामणि पोखरेलले आफ्नो भनाइ राखेका थिए।सो बैठक पुन: सोमबार ११ बजे बस्ने भएको छ । 


कस्तो लाग्यो ?

यो पनि