काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली कांग्रेस अपवित्र गठबन्धन गरी सरकार बनाउन लागेको बताएका छन् ।
शनिबार राप्रपा हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर परिषद् भेलाको उद्घाटन गर्दै थापाले कांग्रेस अपवित्र गठबन्धन गरेर सरकार बनाउने योजनामा लागेको बताएका हुन् ।
विघटित नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रको सार्वभौमसताको सम्बर्द्धन गर्न र जनतालाई आर्थिक समृद्धितर्फ डोर्याउनुको सट्टा आरोपप्रत्यारोपमा लागेको र देशमा अराजकता र हिंसा बढेको उनको विश्लेषण छ ।
उनले देशमा स्थायित्व कायम गर्ने र तीव्र विकास हुने विश्वासका साथ करिब दुईतिहाइको बहुमत जनताले दिँदा पनि जनतामाथि नै विश्वासघात भएको बताए ।
कुर्सी र पैसाको निमित्त झगडाको सुरुवात पहिलादेखि नै चलिरहेको र प्रतिनिधिसभा विघटन गर्ने अवस्थासम्म आएको कम्युनिष्ट घटकहरु तीन टुक्रा भएको थापाको जिकिर थियो।