काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्रलाई जलिसकेको डोरीको गाँठोको संज्ञा दिएका छन् ।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा मन्त्री रायमाझीले नेकपा माओवादीलाई जलिसकेको डोरीको संज्ञा दिँदै अब गाँठो मात्रै जल्न बाँकी रहेको बताएका छन् ।
सांसद र मन्त्री पद गए पनि आफूहरुले ओलीको साथ नछाड्ने बताउँदै मन्त्री रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको बताए । ‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होइन, हामीलाई केही चिन्ता छैन,’मन्त्री रायमाझीले भने, ‘देशको विकास र समृद्धिका लागि सही एजेन्डा बोकेकाले आफूहरु एमाले पार्टी भन्दा पनि ओलीको विचारको पछि लागेका हौँ ।’
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दा पनि अर्को पक्षले पद र प्रतिष्ठाका लागि विरोध गरेको उनको भनाइ छ ।
क्याबिनेटले १९ अर्बको खोजी गर्छ कि गर्दैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारबारे छानबिन हुने बताए ।
‘हामी त्यसको अध्ययनमा छौँ । अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकताको आधारमा त्यो अगाडि बढ्छ होला ।’