बैशाख १८, २०८१, मंगलबार
               

नाम फेर्दै माओवादी केन्द्र, अरु दलका नेतालाई आकर्षण गर्ने लक्ष्य

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रले नाम फेर्नका लागि छलफल अगाडि बढाएको छ । नेकपा एमाले र माओवादी केन्द्र एकीकरण खारेज भई एकीकरणपूर्वकै साबिकै दुवै दलको रुपमा ब्यूँतिएसँगै सो दलमा नाम फेर्ने विषय उठेको हो । अदालतले एमाले र माओवादी केन्द्रलाई विभाजनअघिकै अवस्थामा पुर्‍याएपछि पुरानो नाममा नयाँ मानिसहरुको आकर्षण नहुने ठानेर नाम परिवर्तन गर्नुपर्ने बहस उठेको हो । 

पार्टी स्थायी समिति बैठकमा नाम फेर्नेबारे छलफल भएको नेताहरुले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी अथवा नेपाल कम्युनिस्ट पार्टीसँग अर्को एउटा शब्द जोडेर पार्टीको नाम फेर्ने विषयमा छलफल भएको स्रोतको दाबी  छ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने नाम फेर्नेबारे अनौपचारिक छलफलको विषय मात्र बनेको बताएका छन् ।  ‘औपचारिक छलफल हैन, अनौपचारिक छलफल भएको हो’, प्रवक्ता श्रेष्ठले भने ।

माओवादी नाम जनयुद्धसँग जोडिएको र माओवादी पार्टी भनेको जनयुद्ध लडेकाहरुको मात्र हो भन्ने देखिएकाले अरुलाई समेत समेट्ने गरी नाम फेर्ने तयारी भएको केही नेताहरु बताउँछन् । अन्य पार्टीबाट आउनेहरु माओवादी बन्न हिच्किचाउने भएकाले तिनलाई सहज प्रवेश गराउन नाम परिवर्तन गर्न लागिएको नेताहरु बताउँछन् ।

एक केन्द्रीय सदस्यले भने, ‘भोलिका दिनमा नेकपा एमालेमा असन्तुष्ट पक्ष माधवकुमार नेपाललगायत अरु दलका नेतालाई आकर्षण गर्न तथा समेट्न नाम फेर्ने प्रस्ताव लगेको हौँ ।’

बुधबार बसेको स्थायी समिति बैठकमा पार्टीको नाम फेर्ने विषयमा छलफल भएर सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उद्धृत गर्दै एक नेताले जनाए । पार्टीको नाम फेर्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी समितिका अधिकांश सदस्य सहमत देखिएका छन् ।

‘माओवादी केन्द्र नाम परिवर्तन गर्ने सहमति स्थायी समिति बैठकले गरिसकेको छ, तर अर्को के नाम राख्ने भन्ने छलफल भइरहेको छ’, प्रवक्ता श्रेष्ठलाई उद्धृत गर्दै ती नेताले भने, ‘नेपाली कम्युनिस्ट पार्टी, एकीकृत नेपाल कम्युनिस्ट पार्टी वा अरु केही राख्नेबारे छलफल भइरहेको छ ।’

माओवादी नाममा एमाले जान मानेनन्

अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध प्रचण्डसँग एउटै समूहमा रहेका माधवकुमार नेपाल समूहले अलग भएर एमालेभित्रै रहेर संघर्ष गर्ने निर्णय गर्‍यो ।

यो निर्णय मुख्यतः एमालेमा नरहँदा सांसद पद गुम्ने कारणले गरिएको हो । तर, पनि माओवादी केन्द्रको नाममा पूर्वएमालेका नेता कार्यकर्ता रहन नसक्ने अवस्थाका कारण पनि आएको मानिएको छ ।

स्रोतका अनुसार माओवादी केन्द्रले नाम फेर्न लागेको सुनेर माधवकुमार नेपाल समूहका नेताहरूले पनि सकारात्मक प्रतिक्रिया जनाएका छन् । तर, त्यसको अर्थ उनीहरू फेरि प्रचण्डसँग मिलिहाल्छन् भन्ने होइन । माओवादी केन्द्रले अहिले नाम परिवर्तन गर्ने तयारी गर्नुको कारण गैरमाओवादी वा हिजो माओवादी मन नपराउने जमातलाई सहज बनाउनु पनि रहेको मानिएको छ।

एमाले, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका समेत नेताहरुलाई आउन सहज हुनेगरी नाम परिवर्तन गर्नुपर्ने जोड केही नेताको छ।

यसरी बनेको थियो माओवादी केन्द्र

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र अनेकौँ टुटफुटको शृंखलापछि अहिलेको अवस्थामा आइपुगेको हो । २०५२ सालदेखि सशस्त्र जनयुद्ध गरेको सो पार्टी ०६२/०६३ को जनआन्दोलमार्फत् शान्ति प्रक्रियामा आएको हो । २०६५ सालमा एकता केन्द्र मसालसँग पार्टी एकतापछि एमाओवादी बन्यो ।

मातृका यादवले पार्टी छाडेर नेकपा माओवादी बनाए । २०६९ सालमा एमाओवादीमा ठूलो विभाजन भयो । मोहन वैद्य, रामबहादुर थापा, विप्लव लगायत नेताले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे । वैद्यको पार्टीलाई पनि २०७१ मंसिरमा नेत्रविक्रम चन्दले फेरि विभाजन गराए । २०७२ साल असोज ३ गते संविधान जारी भएपछि १० गते डा. बाबुराम भट्टराईले एमाओवादी छोडेका थिए । पछि २०७३ मा रामबहादुर थापा, मणि थापा, मातृका यादव पुनः फर्केर आएपछि नेकपा माओवादी केन्द्र बनाइएको हो ।

२०७४ असोजमा चुनावी गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले फागुनमा पार्टी नाम, राजनीतिक कार्यदिशालगायत विषयमा सातबुँदे सहमति गरेका थिए। त्यसपछि ०७५ जेठ ३ मा पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) बनाए ।
अदालतले नेकपा नाम पहिलेनै दर्ता भएको दल नेकपाका अध्यक्ष ऋषि कट्टेललाई दिने फैसलासँगै एमाले र माओवादी केन्द्र अलग अस्तित्वमा आएका छन् ।

यो पनि