बैशाख २०, २०८१, बिहीबार
               

पाटीमा आबद्ध सबैले विगत समीक्षा गरी कमीकमजोरी सच्याउनुपर्छ:  पोखरेल

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले माधव नेपाललगायत पार्टीमा सम्बद्ध हरेक नेता साथीहरुले विगतको समीक्षा गर्दै आफ्ना कमीकमजोरी सच्याउनुपर्ने बताएका छन् । 

बिहीबार वीरगञ्जमा एमाले पार्टीमा माधव नेपालको स्थान के हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता उपप्रधानमन्त्री पोखरेलले सो बताएका हुन् । 

पोखरेलले भने, ‘माधव नेपालजीमात्रै हैन, पार्टीमा सम्बद्ध हरेक नेता साथीहरुले विगततिर फर्केर हेर्नुपर्छ, समीक्षा गर्नुपर्छ, कमीकमजोरीलाई सच्याउनुपर्छ । फेरि एकताबद्ध भएर अघि जानुपर्छ । हिजो कै तरिका अपनाइयो भने कसैका लागि हितकर छैन । फेरि एकताबद्ध भएर अगाडि जानुपर्छ ।’

सोही क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वाेच्च अदालतको पछिल्लो फैसलाले दलहरुलाई ०७५ साल जेठ २ गतेको अवस्थामा पुर्‍याएको बताउँदै संसदीय प्रक्रियाबाट राजनीतिक निकास ननिस्किए ताजा जनादेशमा जानुको विकल्प नरहेको पनि बताए ।

‘संसद पूनस्र्थापित भएपछि संसदीय प्रक्रियाबाटै अघि बढ्छ । माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने के हुन्छ ? समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ, पाउनुभयो भने ठीकै छ,’ उनले भने, ‘हैन भने राजीनामा दिनुहुन्छ । राजीनामा दिएपछि संविधानको धारा ०७६ को उपधारा २ अनुसार नै दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने कोसिस हुन्छ । सरकार बनेन भने चुनावमा जानुको विकल्प छैन ।’

सोही क्रममा उनले प्रधानमन्त्रीले संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजीनामा दिने पनि बताए । 

ऋषि कट्टेलले नाममा दाबी गर्दै अदालत गुहारेपछि उनकै पक्षमा सर्वोच्चको फैसला आइसकेको छ । ०७५ साल जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेकोे थियो ।

सञ्चारकर्मीसँग उनले पुनर्जिवित नेकपा एमालेले सबै कम्युनिस्ट वामपन्थीलाई पार्टीलाई समेटेर अघि लैजाने बताए । 


कस्तो लाग्यो ?

यो पनि