ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा भ्रष्टाचारको दोषबाट मुक्त भएका छन् । ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीश न्यायाधीश फाकिनले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरिदिएसँगै उनी दोषमुक्त भएक हुन्।
उनलाई अपरेशन कार वासनामक घुसकाण्डको अनुसन्धानपश्चात् दोषी ठहर भएका थिए ।सो काण्डमा उनीलगायतअन्य नेता तथा व्यापारीहरू पनि परेका थिए। तर, न्यायाधीश एड्सन फाकिनले ती दोषबाट उनलाई सफाइ दिएका छन्।
दक्षिणी सहर कुरिचीबाको अदालतलाई ती चारवटा मुद्दा हेर्ने अधिकार नभएको भन्दै न्यायाधीश फाकिनले अब तिनको सुनुवाइ राजधानी ब्रजिलियास्थित सङ्घीय अदालतमा हुने फैसला गरेका छन्।
उनलाई सर्वोच्च अदालतले भ्रष्टाचारको दोषबाट सफाइ दिएको हो । भ्रष्टाचारको दोषबाट मुक्त भएसँगै उनलाई सन् २०२२ को राष्ट्रपति निर्वाचनमा सहभागी हुने बाटो खुलेको छ।
वामपन्थी नेता लुलालाई सन् २०१९ मा १८ महिना कैदपछि रिहा गरिएको थियो। सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा दोषी ठहर गरिएको थियो। दोषी ठहर भएपछि डेढ वर्ष जेल परेका उनलाई आजीवन सार्वजनिक पदमा चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो। तर पछिल्लो फैसलाले अहिलेको निम्ति उनलाई चुनावको बाटो खुलेको छ।