जेठ ०५, २०८१, शनिबार
               

विप्लव समूहसँग वार्ता गर्ने सरकारको तयारी
प्रतिबन्ध फुकुवा गरिँदै

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । सरकार विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा छ भने विप्लव समूह वार्ताका एजेन्डा र वार्ता समिति गठनको तयारीमा छ। सर्वोच्च अदालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला सुनाउनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओली विप्लव नेतृत्वको नेकपासँगको संवादमा प्रगति भएको देखाउन खोज्दैछन् । 

यसअघि विखण्डनको नारा बोकेका सिके राउतलाई दुई वर्षअघि वार्तामार्फत् शान्तिपूर्ण राजनीतिमा ल्याइएको थियो । यस्तै, सशस्त्र युद्धको तयारीमा रहेका विप्लवसम्मलाई वार्तामार्फत् शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन सकेमा त्यसको ‘जस’ लाई निर्वाचनमा क्यास गर्न सकिने बुझाइमा पनि ओली देखिन्छन् । यसैकारण सरकारी पक्षले थप लचकता अपनाउँदै वार्ताको तयारी अघि बढाएको छ ।

यसअघि शनिबार विप्लव समूहले विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता गर्न तयार रहेको बताएको थियो । वार्ता तयारीका लागि विप्लव समूहको शीर्ष नेताको बैठक बसिरहेको जनाइएको छ । 

यस्तै, वार्ताका लागि तयार रहेको भन्दै शनिबार विप्लव समूहले विज्ञप्ति पनि गरेलगतै सरकारले उसप्रतिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको हो। बालुवाटार स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । बालुवाटार स्रोतले भन्यो, ‘शान्तिपूर्ण राजनीतिमा जान तयार रहेको भन्ने विप्लवको वक्तव्य आइसक्यो । यस कारण अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।’ 

बालुवाटार स्रोतका अनुसार विप्लव समूहलाई तत्काल विज्ञप्ति निकाल्न सरकार पक्षले नै दबाब दिएको थियो । एक साताअघि वार्ताको वातावरणका लागि प्रधानमन्त्री ओलीको दूतको रुपमा खानेपानीमन्त्री मणि थापाले विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली भेट्न जेलमै पुगेका थिए । 

ओली नेकपा र विप्लवबीच एकताको तयारी

प्रधानमन्त्री ओली विप्लव समूहलाई वार्तामा ल्याएर पूर्वमाओवादीको पंक्ति आफूसँग रहेको सन्देश प्रचण्डलाई दिन चाहिरहेका छन् । तत्कालीन जनयुद्धको मूल हिस्सेदार आफू भएको दाबी गर्दै विप्लव नेतृत्वको नेकपा एकीकृत क्रान्तिको पक्षमा छ । यसैले सो पक्षलाई तत्काल शान्ति वार्तामा लिन ओली चाहन्छन् । 

यति मात्र होइन विप्लव समूहसँग पाटी एकीकरण नै गर्ने समेतको योजना रहेको नेताहरु बताउँछन् । ओलीनिकट एक नेता भन्छन्, ‘प्रचण्ड पक्ष बादललाई साथमा लिएका ओलीले विप्लवसमेत साथमा लिएनन् प्रचण्डलाई राजनीतिक रुपमा थप कमजोर साबित गर्न चाहन्छन्, यसका लागि सकेसम्म पार्टी एकता गर्नेसम्मको योजना रहेको छ । यसमा दुवै पक्ष सकारात्मक देखिएको छ ।’ 


कस्तो लाग्यो ?

यो पनि