मंसिर ०७, २०८१, शुक्रबार
               

‘सरकारले लोकतन्त्रको बाटो बिराउँदैन’

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

संविधानको परिपालनामा सरकारको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट लोकतन्त्रमा कुनै खतरा नरहेको दाबी गरेका छन् । 

७१ औँ प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आफ्नो आस्था एवं विश्वास बढाउन र त्यस अभ्यासलाई आत्मसात गरी इमान्दारिताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

 “सरकारले लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिच्दैन, मिच्न दिँदैन्, जनताको अभिमतभन्दा विपरित जान दिँदैन र जाँदैन”, लोकतन्त्रप्रति सरकारको निष्ठा प्रकट गर्दै प्रधानमन्त्रीले भने, “भ्रष्टाचार गर्दैन र गर्न दिँदैन, सुशासन कायम गरेर छाड्छ, अपराधलाई नियन्त्रण गर्छ ।’

सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने र त्योभन्दा अगाडि नै दिगो विकासका शर्त पूरा गर्ने अभियानका साथ सरकार अगाडि बढेको उल्लेख गर्दै उनले अबको प्रयासलाई तीव्र पारिने बताए । संविधान जारी भएपछि जनताको अभिमतबाट गठित आफ्नो सरकारले जनताको पक्षमा अभूतपूर्व काम गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले सरकार गठन भएको सुरुको वर्ष विकासको आधार वर्ष र अर्को वर्ष समृद्धि आरम्भको वर्षका रुपमा वितेको स्मरण गराए । 

प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्धिको मार्गमा अगाडि बढाउने, लोकतन्त्रको मूल्य र मान्यता स्थापित गराउने सन्दर्भमा असाधारण उपलब्धि हासिल गरिएको बताए-“बितेका सात दशकमा नेपालमात्र नभई विश्व नै अत्यन्त तीव्र गतिका साथ अगाडि बढिरहेको छ, विज्ञान र प्रविधि, आर्थिक उन्नति र विविध क्षेत्रमा हामीले असाधारण उन्नति गरेका छौँ”, उनले भने, “अझै पनि केही शान्ति, विकास र सामाजिक न्याय र समानताको पक्षमा देशभित्रका नागरिकको पक्षमा अझै पनि थुप्रै काम बाँकी छ ।”

जनताको संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई व्यवहारको माध्यमबाट अझ सुदृढ, जीवन्त र खदिँलो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उनले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा तथा आर्थिक समृद्धिका क्षेत्रमा प्राप्त उपब्धिलाई रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताए  । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई साकार पार्न सुशासन र विकासको बाटोबाट अगाडि बढ्ने अथक प्रयास गरिरहेको बताए । 

लोकतन्त्रलाई बिनाव्यवधान र बिनाविकृति अगाडि बढाउन, लोकतन्त्र भित्रैबाट अस्वस्थता र अस्थिरताको प्रयास हुन नपाओस् भन्ने अभिप्रायले मुलुक फेरि नयाँ निर्वाचनतर्फ अग्रसर भएको उल्लेख गर्दै उनले निर्वाचनको तयारीका लागि सबै निकायलाई जिम्मेवारीपूर्वक आ-आफ्नो भूमिका निर्वाह गर्न निर्देशन दिए-“कुनै पनि हिसाबले अलमल गर्ने, लोकतन्त्रलाई अलमलमा पार्ने भूमिका कहीँकतैबाट हुनु हुँदैन”, उनले भने, “निर्धारित समयमा निर्वाचन हुनेछ र निर्वाचन गरिनु पर्छ, देशलाई अस्थिरताबाट जोगाउने बाटो ताजा जनादेश नै हो ।” 

यो पनि