काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र आएको सत्तरी वर्षसम्म प्रजातन्त्रको विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त र ग्रस्त रहेको बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार शुभकामना सन्देश जारी गर्दै सो बताएका हुन् । ‘प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था हो,’ पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो। जनताको आस्था, चाहना र जनभावना अन्तत अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिन्न।’
मुलुकमा निषेध र विभेदको राजनीति सुरु भएको बताउँदै पूर्वराजा शाहले आमनागरिकले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुस गरेको जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणालीमात्र होइन, यो सामाजिक जीवन पद्धति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्ने बेला भएको छ ।’ शुक्रबार फागुन ७ गते ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस बनाइँदैछ ।