काठमाडौं । एपिएफ क्लब राष्ट्रिय महिला लिगको उपाधिनजिक पुगेको छ । शनिबार एपिएफले वालिङ नगरपालिका स्याङजालाई ६-० गोलले पराजित गरेसँगै सो उपाधिनजिक पुगेको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको सहज जीतमा सावित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् ।एपिएफले सातौँ मिनेटमा सावित्राको गोलमार्फत् वालिङ विरुद्ध अग्रता लिएको थियो । १६ औँ मिनेटमा दोस्रो गोल गरेकी सावित्राले त्यसको चार मिनेटपछि ह्याट्रिक पूरा गरिन् । इन्जुरी समयमा प्रीति राईले गोल गरेपछि एपिएफ पहिलो हाफमा वालिङ संगको दुरी चार शून्यमा पुर्याएको थियो ।
पहिलो हाफमानै वालिङले गोलका केही राम्रा मौका सिर्जना गरेको थियो, तर फिनिसिङ गर्न सकेन । दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि एपिएफ रोकिएन । ६४ औँ मिनेटमा सावित्राले व्यक्तिगत चौथो गोल गरिन् । इन्जुरी समयमा सावित्राले गोल गरेपछि एपिएफले लिगमा आफ्नो अपराजित यात्रा कायम राख्यो । जारी लिगमा अपराजित रहने एपिएफ एक्लो टोली हो ।
यो सिजन लिगमा सावित्राको गोल संख्या ४३ पुगेको छ । शीर्ष स्थानमा रहेको उसको नौ खेलबाट २७ अंक छ । दोस्रो स्थानको त्रिभुवन आर्मी फुटवल क्लबको २२ अंक छ ।