जेठ ०५, २०८१, शनिबार
               

नेतालाई गाली ‘महँगो’, वाक स्वतन्त्रता कि ‘हेट स्पिच’ ?
राष्ट्रपति, प्रधानमन्त्री, प्रचण्ड र रेणु दाहाललाई गाली गर्नेलाई पनि पक्राउ गरिएको थियो

ADVERTISEMENT
  • घटना–१

राष्ट्रपति विद्या भण्डारीलाई गाली गलौज गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ गरिएको हो ।

  • घटना–२

१० वैशाख २०७७ मा पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका थिए । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिकसञ्जाल फेसबुकमार्फत् गाली बेइज्जती गरेको अभियोगमा लगाइएको थियो । विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चल्यो । २५ हजार धरौटीमा उनी रिहा भएकी थिइन् । 

घटना–३

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गर्ने पोखराका दुर्गा दत्त बाँस्तोला २२ असार २०७७ मा पक्राउ परे । उनले पनि सामाजिकसञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री ओलीलाई गाली गरेका थिए ।

  • घटना–४

नेकपा ओली पक्षीय नेता महेश बस्नेतलाई सामाजिकसञ्जालमा गालीगलौज गरेको अभियोगमा १६ पुस २०७७ मा पूर्वप्रहरी डिल्लीबहादुर चन्द पक्राउ परे । कांग्रेस कार्यकर्तासमेत रहेका पूर्वप्रहरी सहायक निरीक्षक (असई) चन्दले सामाजिकसञ्जालमा नेता बस्नेतविरुद्ध लेखेका थिए ।

  • घटना–५

नेकपाका प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेको अभियोगमा १८ वैशाख २०७७ मा पत्रकार दीपक पाठक पक्राउ परे । प्रचण्डलाई फेसबुकमा अशिष्ट र अमर्यादित गाली गरेको विषयमा उजुरी परेको थियो । रेडियो नेपालको बोर्ड सदस्यसमेत रहेका पाठकलाई साइबर क्राइमको अभियोग लगाइएको थियो । 

  • घटना–६

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेको अभियोगमा ८ पुस २०७५ मा कांग्रेसका महासमिति सदस्य तथा चितवनका वरिष्ठ होटेल व्यवसायी सुबोध प्रधान पक्राउ परेका थिए । फेसबुकमा ‘नराम्रो’ स्ट्याटस् पोस्ट गर्दा प्रधान पक्राउ परेका थिए । 

घटना–७

भरतपुर महानगरपालिकामा तत्कालीन एमालेको तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई प्रहरीले १८ साउन २०७४ मा पक्राउ गर्‍यो । मेयर रेणु दाहालले सामाजिकसञ्जाल फेसबुकमा आफूलाई गालीगलौज गरेको भनेर उजुरी दिएकी थिइन् ।  उनलाई साइबर अपराधमा मुद्दा चलाइएको थियो ।

  • घटना–८

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तथानाम गाली गरेको भन्दै २५ असार २०७५ मा सगीतकार आलोकश्री पक्राउ परेका थिए । काठमाडौंको अनामगरस्थित नेपाली रेडियो नेटवर्कको कार्यालय छेउको सडकमै मोटरसाइकल पार्किङ गरेको भन्दै सगीतकार श्रीलाई पक्राउ गरिएको थियो ।

माथि उल्लेखित घटना प्रतिनिधि मात्रै हुन् । प्रधानमन्त्री र राष्ट्रपति, नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललगायतलाई गालीगलौज गरेको भन्दै दर्जनौँ पक्राउ परिसकेका छन् । त्यस्तै, नेकपा ओली समूहका युवा नेता महेश बस्नेतलाई गालीगलौज गरेको भन्दै केही व्यक्ति पक्राउ परिसकेका छन् । नेतालाई गाली गर्ने ०७७ वैशाखयता मात्र १५ जन बढी पक्राउ परिसकेका छन् । पक्राउ परेकामध्ये केही अदालतको फैसलापछि जेलमा केही पूर्वपक्षका लागि थुनामा छन् । केहीको हकमा अदालतले धरौटी, जरिमाना तथा माफी दिएर छाडेको छ । 

वाक स्वतन्त्रता कि हेट स्पिच ?

वाक स्वतन्त्रता र हेट स्पिचबारे लामो समयदेखि बहस हुँदै आएको छ । सामान्यतया जात, धर्म, सम्प्रदाय, अपांगता, लैंगिकता, यौन अभिप्रेरितलगायत विषयका आधारमा कुनै व्यक्ति वा समूहविरुद्ध बोलेर, लेखेर वा संकेततद्वारा गरिने आक्रमणलाई ‘हेट स्पिच’ भन्ने गरिन्छ । 

साइबर अपराध नयाँ विषय भएकाले अनुसन्धान गर्ने प्रहरीदेखि न्यायालयसम्म स्पष्ट देखिँदैन । जसका कारण नेपालमा ‘वाक स्वतन्त्रता हो कि  हेट स्पिच हो’ भन्ने विषयमा मतभेद छ । ‘के हुँदा हेट स्पिच हुन्छ भन्ने स्पष्ट नहुँदासम्म मुद्दा हेर्न समस्या हुन्छ,’ साइबर अपराधका जानकार प्रहरी भन्छन् । 

यसअघि राष्ट्रपति विद्या भण्डारी, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको विषयमा सामाजिकसञ्जालमा अश्लील शब्द प्रयोग गरी गालीगलौज भएको सम्बन्धमा उजुरी परे पनि प्रहरीले अनुसन्धान अगाडि बढाउन सकेको छैन । अहिले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरे पनि कुन मुद्दा चलाउने भन्नेमा प्रहरी अन्योलमा छ । उनलाई राज्यविरुद्धको कसुर भनेर पक्राउपुर्जी जारी गरिए पनि उनको अभियोग पुष्टि नहुने अधिवक्ताहरूको तर्क छ ।

कानुनमा के छ ?

सामाजिकसञ्जालमा सामग्री राखेकै आधारमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ प्रयोग गरी धेरै व्यक्तिलाई सरकारले समातिसकेको छ । उक्त दफामा भनिएको छ – ‘विद्युतीयस्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्ने: (१) कम्प्युटर, इन्टरनेटलगायत  विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमका अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

कानुनको चौतर्फी विरोध भएपछि २०७५ मा सूचना प्रविधि विधेयक ल्याइएको छ । तर, अभिव्यक्ति स्वतन्त्रता संकुचित गरेको भनी आलोचना हुन थालेपछि अर्को नयाँ विधेयक संसद्मै विचाराधीन छ ।

रामकुमारीको मुद्दा ‘हेट स्पिच’ होइन : अधिवक्ता त्रिपाठी

राजनीतिक अभिव्यक्तिलाई राज्यविरुद्धको अपराधसँग जोडेर पक्राउ गर्नु गलत हुने केही अधिवक्ता बताउँछन् । उनको क्रियाकलाप विशुद्ध स्वतन्त्र अभिव्यक्ति भएको र घृणाको अभिव्यक्ति नभएको तर्क छ । तर, उनलाई राज्यविरुद्धको कसुर भन्दै पक्राउ गरिएको छ । 

दफा ५८ पुष्टि भएमा सात वर्ष जेल सजायँ तोकिएको छ । तर, झाँक्रीको हकमा राज्यविरुद्धको कसुर दफा ५८ आकर्षित हुन नसक्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको तर्क छ ।

उनले भने, ‘रामकुमारी झाँक्रीले राष्ट्रपतिलाई डर धाक धम्की नदिएकोले यो दफा आकर्षित हुन सक्दैन, यो ठाडै राज्य शक्ति र कानुनको चरम दुरुपयोग हो ।’ झाँक्रीको अभिव्यक्ति राजनीतिक रुपमा वाक स्वतन्त्रता रहेको बताउँदै उनले फौजदारी कानुन आकर्षित नहुने बताए । 

लोकतन्त्रमा अप्रिय लाग्ने र कर्कस लाग्ने बोली पनि बोल्न पाउनुपर्ने अधिवक्ता त्रिपाठी बताउँछन् । कसैको बोलीले बिझेमा वा मानमर्दन भएको लागेमा सम्बन्धी व्यक्ति नै कानुनबमोजिम उजुरी गर्ने प्रावधान रहेको त्रिपाठीको तर्क छ । 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि