कात्तिक ३०, २०८१, शुक्रबार
               

प्रदेश १ को प्रदेशसभा बैठक आज, बैठक बस्न नदिने तयारीमा मुख्यमन्त्री राई पक्ष

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आज (आइतबार) बस्दै छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आजका लागि बोलाएका हुन् ।

सत्तारुढ नेकपा फुटको असर प्रदेश १ को प्रदेशसभामा पनि परेको छ । आन्दोलनरत नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । सत्तापक्षभित्रै टकराब बढिरहेको बेला बस्न लागेको आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

आजको बैठकमा सभामुख भण्डारीले मुख्यमन्त्रीविरुद्धको अविश्वासका प्रस्ताव पेस गर्ने कार्यसूची छ । तर, मुख्यमन्त्री राई पक्ष भने प्रदेशसभा बैठक नै बस्न नदिने तयारीमा लागेको स्रोतले जनाएको छ ।

मुख्यमन्त्री राईनिकट मानिने नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संघीय संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र नेकपा औपचारिकरुपमा विभाजन पनि नभएको अवस्थामा अविश्वासको प्रस्तावको औचित्य नभएको दाबी गरेका छन् ।

तर प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सत्तापक्षबाटै प्रदेशसभा बैठक बस्न नदिने षड्यन्त्र हुनु संसदीय व्यवस्था विरोधी कदम भएको बताएका छन् ।

नेकपाकै सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे पनि प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने अझै आफ्नो कित्ता प्रष्ट गरिसकेको छैन ।

प्रदेश १ सभाका ९३ सांसद छन् । जसमा नेकपाका मात्रै ६७ जना छन् । त्यसैगरी कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ १ जना सांसद प्रदेशसभामा छन् । नेकपाका ६७ मध्ये मुख्यमन्त्री राईको पक्षमा २८ सांसद मात्रै देखिएका छन् ।

प्रचण्ड–नेपाल समूहमा ३४ सांसद उभिएका छन् भने दुई जना तटस्थ छन् । प्रदेशसभामा अविश्वासको प्रस्ताव सफल वा असफल जे हुन पनि ४७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ । कांग्रेसको समर्थनविना नेकपाका दुबै खेमालाई सरकार टिकाउन र ढलाउन आवश्यक संख्या पुग्दैन ।

यो पनि