जेठ ०५, २०८१, शनिबार
               

खुल्लामञ्च मासेर सडकमा सभा
जनतालाई सास्ती, नेतालाई मस्ती

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

वाक तथा अभिव्यक्ति स्वतन्त्रता नै प्रजातन्त्र वा लोकतन्त्र हो । यस्तो व्यवस्थामा उसले विनाअवरोध आफ्नो विचार राख्न सक्छ र पाउनुपर्छ । यसका लागि स्वतन्त्ररूपमा भेला हुन पाउनु, सभा सम्मेलन गर्न पाउनु जनताको संविधानप्रदत्त अधिकार हो । यसका लागि आमजनता सङ्घ सङ्गठन, राजनीतिक दलका लागि उपयुक्त स्थान आवश्यक पर्छ । केही पहिला यसका लागि खुल्लममञ्चको उपयोग हुने गर्दथ्यो ।

इतिहासमा राजामहाराजाले उर्दी जारी गर्नेदेखि विभिन्न कालखण्डमा नेपालमा भएका ठुला परिवर्तनमा प्रमुख भूमिका यही  टुडिखेलले निर्वाह गरेको थियो । तिनै आन्दोलन तथा सङ्घर्षले मुलुकमा राजनीतिक परिवर्तन ल्यायो । जसको परिणाम आज गणतन्त्रसम्म आइपुगेको छ । विस १९८० को दशकमा चन्द्रशमशेरले दासप्रथा उन्मूलनको घोषणा र २००७मा राजा त्रिभुवनले यही टुँडिखेलबाट नेपालमा राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरेका थिए ।

आफ्नो छुट्टै ऐतिहासिक महत्त्व बोकेको टुँडिखेल अहिले निक्कै साँघुरो भएको छ । थोरै बचेको खुल्लामञ्च पनि काठमाडौं महानगरपालिका, नेपाली सेनालगायतको कब्जामा छ । त्यसबाट बचेको स्थान पार्किङस्थल, कामदारका लागि आवास क्षेत्र र बसपार्कको रुपमा प्रयोग गरिएको छ। सबैको अतिक्रमणमा परेको खुल्लामञ्चमा अहिले ‘मञ्च’बाहेक खुल्ला स्थान पाउन कठिन छ। खुलामञ्च जनताले प्रयोग गर्न पाएका छैनन् । न त संघसंस्था तथा राजनीतिक दलले भेला तथा सभा सम्मेलन गर्न नै पाएका छन् । 

त्यही खुल्लामञ्च खाली नहुँदा अहिले राजनीतिक दल धमाधम सडकमा सभा गर्दैछन् । नेपाली कांग्रेसले प्रतिनिधिसभापछि प्रतिगमनविरुद्ध भन्दै सभा गर्न रत्नपार्कको शान्तिवाटिका छानेको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल (प्रचण्ड)–माधवकुमार नेपाल समूहले कहिले प्रदर्शनीमार्ग त कहिले माइतीघरमण्डलमा सभा गरिरहेको छ । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले सोही सडकमै पुस १४ र माघ ९ मा दुई ठुला सभा गरिसक्यो । त्यसअघि हिन्दुराष्ट्र तथा राजसंस्थाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा अन्य संस्थाले प्रदर्शनका लागि रत्नपार्क तथा शान्तिवाटिकाको प्रयोग गरेका थिए ।

नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले शुक्रबार नारायणहिटीअगाडि सडकमा कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिनिधिसभा विघटनसँगै राजनीतिक मुद्दाले काठमाडौंका सडक तातिन थालेको छन् । हरेक दिनजसो कुनै नै कुनै दल वा समूहको विरोध प्रदर्शन, र्‍याली, आमसभा भइरहेको छ । 

यसरी व्यस्त हुने सडकमै ठुला सभा हुँदा उपत्यकाकै ट्राफिक आवागमन दिनभर अस्तव्यस्त हुँदै आएको छ। पछिल्लोपटक शुक्रबार आमनागरिकले त्यही नियति भोग्नुपर्‍यो । र्‍याली र आमसभाले सडक रोकिएपछि घण्टौं सवारी जाम भयो । यसरी सडकमा सभा गर्दा सवारी अस्तव्यस्त छ । सहरको मुख्य सडकमा सभा गर्न रोक्नुपर्ने आमसर्वसाधारणले आवाज उठाउन थालेका छन् । 

ठुला सभा सडकमा हुँदा उपत्यकाको ट्राफिक अस्तव्यस्त हुने गरेको छ । यही अस्तव्यस्तलाई मध्यनजर गर्दै दरबारमार्गका केही व्यापारी जिल्ला प्रशासन कार्यालय कार्यालय काठमाडौंमा ‘डेलिगेसन’ जाने तयारीमा छन् । सहरको मुख्य सडकमा सभा गर्न रोक्नुपर्ने उनीहरूको माग छ।

खुलामञ्चजस्ता सार्वजनिकस्थल नहुँदा सडकमा सभा गर्नुपरेको बताउँछन् नेकपा ओली समूहका नेता कृष्णगोपाल श्रेष्ठ । उनले भने, ‘दुई तीन लाख मान्छे अट्ने ठाउँको खोजी भइरहेको थियो । उपयुक्त ठाउँ अन्त भेटिएन । अरूभन्दा फराकिलो सडक र सवारीसाधनको रुट नपरेको ठाउँ दरबारमार्ग भएकै कारण यही ठाउँ रोज्नुपरेको हो ।’


कस्तो लाग्यो ?

यो पनि