जेठ ०६, २०८१, आइतबार
               

आमहड्ताल लक्षित प्रहरीको ‘क्विक सेक्युरिटी प्लान’ बन्द तथा तोडफोड गर्नेलाई पक्राउ गरी मुद्दा चलाउने

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्ताललाई लक्षित गरी सुरक्षा निकायले आवश्यक सुरक्षा योजना बनाएका छन् । देशैभरीका जिल्ला प्रहरी कार्यालय, काठमाडौं उपत्यकामा परिसरहरूले आवश्यक सुरक्षा योजना बनाएका हुन् ।

यो सुरक्षा योजनामा प्रहरीको परिचालन अत्यधिक रहने छ । बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकभन्दा प्रहरी जनशक्ति बढाइएको प्रहरीले जनाएको छ ।

देशैभरी साबिकको भन्दा बढी संख्यामा पैदल, मोबाइल, पिकेट गस्ती बढाइएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । उनले भने ‘शान्तिपूर्ण रूपमा आमहड्ताल सम्पन्न गराउनेतर्फ सुरक्षाकर्मीहरू रहन्छन्, नागरिकको मौलिक हक र स्वतन्त्रतालाई बाधा पर्ने काममा प्रहरीले हस्तक्षेप गर्छ,’ कुँवरले भने । सुरक्षामा खलल पुग्ने काम गर्नेलाई पक्राउ गरि मुद्दा चलाउने उनले बताए ।

यस्तै काठमाडौंमा समेत बाक्लो संख्यामा प्रहरी खटाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । शान्तिपूर्ण वातावरणमै आमहड्ताल सम्पन्न होस् र सर्वसाधारणले शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूत गरून् भन्ने उद्देश्यबाट प्रहरी परिचालन हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बताए ।

त्यसअनुसार उपत्यकाका तीन वटै जिल्लास्थित सुरक्षा प्रमुखहरूलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनिएको छ । ‘राजनीतिक पार्टीको विरोध आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमा बाधा पर्ने छैन, जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड भए प्रहरीले नियन्त्रणणमा लिएर कारबाही गर्छ,’ पालले भने, ‘कुनै पनि धनजनको क्षति नहोस् भन्नेतर्फ प्रहरी सचेत छ ।’
 


कस्तो लाग्यो ?

यो पनि