बैशाख ३१, २०८१, सोमबार
               

म्यानमारमा सैनिक ‘कु’ गर्ने सेना प्रमुख मिन ओङ नेपाल आएका थिए

नेपाल फ्ल्यास
माघ १९, २०७७

शासन सत्ता हातमा लिएका सेना प्रमुख मिन ओङ ह्लाइङ यसअघि सन् २०१७ को डिसेम्बरमा नेपाल भ्रमणमा आएका थिए । तत्कालीन नेपाली सेना प्रमुख राजेन्द्र क्षेत्रीसँगको फोटो ।
ADVERTISEMENT

म्यानमारमा ‘सैन्य कु’पछि सङ्कटकाल घोषणा गरिएको छ । म्यानमार सेनाले राष्ट्रिय टेलिभिजनमार्फत् एक वर्षसम्म संकटलकालको घोषणा गरेको हो । राष्ट्रपतिलगायत जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको सेनाले देशको कार्यकारी अधिकारी सेनाका कमान्डर इन चिफ सिनियर जेनरल मिन आङ हलिङमा हस्तान्तरण गरिएको छ ।

जननिर्वाचित प्रतिनिधिलाई नियन्त्रणमा लिएर सैनिक शासनको नेतृत्व गरेका सेनाका कमान्डर इन चिफ सिनियर जेनरल मिन आङ हलिङ तीन वर्ष नेपाल आएका थिए । उनी नेपाल आएको समयमा म्यानमारमा मुस्लिम रोहिंज्या अल्पसंख्यमाथि तीव्र अत्याचार थियो । सेना तथा त्यहाँको सरकारले आफ्नै देशका रोहिंज्या अल्पसङ्ख्यकमाथि ‘जातीय सफाया’ गरिरहेको थियो । सो घटनाको अन्तर्राष्ट्रियस्तरबाट आलोचना खेपिरहँदा १२ डिसेम्बर २०१७ मा म्यानमारका सेना प्रमुख चारदिने भ्रमणमा नेपाल आएका थिए ।

म्यानमार वर्षौँदेखि आन्तरिक द्वन्द्वमा फसेको मुलुक हो । लामो समयदेखि सेनाले साशनसत्ता लिएको थियो । सो समयमा भर्खरै मुलुकमा प्रजातन्त्र सुदृढ भइरहेको थियो । सेना प्रमुखको नेपाल भ्रमण नेपालको शान्ति प्रक्रिया र विद्रोही सैनिक तथा हतियारको व्यवस्थापनबारे जानकारीमा केन्द्रित थियो ।

तर, कतिपय मानवअधिकारकर्मीले राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय निकायबाट गम्भीर प्रकृतिको मानवअधिकार उल्लङ्घनको आरोप खेपिरहेका विदेशी सेना प्रमुखलाई नेपालले स्वागत गर्नु उपयुक्त समय नभएको भन्दै आलोचना गरेका थिए । मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको राष्ट्रका सेना प्रमुखलाई नेपालजस्तो लोकतान्त्रिक मुलुकले सवगत गर्न नहुने भन्दै विरोध भएको थियो ।

कतिपय अन्तर्राष्ट्रिय अधिकारवादी संघसंस्थाले युद्ध अपराधजस्तो देखिने स्तरमा म्यानमारको सेनाले आफ्ना नागरिकमाथि दमन गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले कडा कदम चाल्नुपर्ने माग गरिरहेका थिए । नेपालमा भने सेना प्रमुखलाई स्वागत गर्दा म्यानमार सरकार र सेनाको जातीय संहारमा समर्थन गरेजस्तो सन्देश जाने भन्दै आलोचना भएको थियो ।

तर, नेपाली अधिकारीले भने रोहिंज्या संकट म्यानमारको आन्तरिक मामिला भएको र सेना प्रमुख मिन ओङ ह्लाइङको नेपाल भ्रमणसँग त्यसको कुनै सम्बन्ध नरहेको प्रतिक्रिया दिएका थिए ।

२०१७ को अगस्टपछि साढे ६ लाखभन्दा बढी रोहिंज्या शरणार्थी म्यानमारको आफ्नो थातथलो छाडेर बांगलादेशमा शरण लिन गएका थिए । कतिपय शरणार्थी नेपालसमेत आएका छन् । सोही विषयलाई लिएर नोबेल पुरस्कार प्राप्त म्यानमारकी नेतृ आङ साङ सूची अन्तर्राष्ट्रियस्तरमा आलोचित बनेकी थिइन् ।

म्यानमारका कतिपय उच्च अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिसहितको टोलीले त्यसअघि नेपालको भ्रमण गरी प्रधानमन्त्रीसहित प्रमुख दल नेतासँग नेपालको नेपालको शान्ति प्रक्रियाबारे छलफल गरेका थिए ।

सेनाले चुनाव हारेपछि ‘कु’

निर्वाचनमा धाँधली भएको भन्दै आइरहेको सेनाले सोमबार सत्ता आफ्नो नियन्त्रणमा लिएको हो । उक्त निर्वाचनमा आङ सान सूचीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले विजय हासिल गरेको थियो । सेना समर्थित दलले निक्कै कम मत ल्याएको थियो । निर्वाचनपछि सोमबार संसद् बैठक बस्ने तयारी भइरहँदा सेनाले नेताहरूलाई पक्राउ गरेको हो ।

सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सलर आङ सान सूचीलगायत मुख्यमन्त्री र नेतालाई ‘नियन्त्रणमा लिएको छ । हाल म्यानमानरभर इन्टरनेट सेवा अवरुद्ध गरिएको छ । पक्राउ परेका नेताहरूको अवस्था सार्वजनिक गरिएको छैन ।

राष्ट्रपतिलगायत जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको सेनाले देशको कार्यकारी अधिकारी सेनाका कमान्डर इन चिफ सिनियर जेनरल मिन आङ हलिङमा हस्तान्तरण गरिएको छ । 

म्यानमार टाइम्सका अनुसार संकटकाल अवधिभर कार्यकारी शक्ति सेना प्रमुखमा रहे पनि राष्ट्रपतिको अधिकार अस्थायी रूपमा उपराष्ट्रपति यु मिन्ट सूचीले प्रयोग गर्नेछन् । 

सैनिक ‘कु’ को विश्वभर निन्दा

नेपालसहित अमेरिका र अस्ट्रेलियाले म्यानमारमा भएको पछिल्लो घटनाको विरोध गरेको छ। निर्वाचनबाट आएको जनप्रतिनिधिलाई नियन्त्रणमा लिएर प्रजातान्त्रिक प्रक्रिया नसच्चिए आफूहरूले त्यस विरुद्ध कदम चाल्ने अमेरिकाले चेतावनी दिइसकेको छ । अस्ट्रेलियाले सेनाले विधिको शासन मान्न र नेताहरूलाई रिहा गर्न माग गरेको छ । 

नेपालले औपचारिक विज्ञप्त जारी नगरे पनि नेताहरूले विरोध जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूले विज्ञप्ति जारी गर्दै तथा सामाजिकसञ्जालमार्फत् सैनिक ‘कु’को विरोध गरेका छन् ।

म्यानमारमा एनएलडीले गत नोभेम्बरमा भएको निर्वाचनमा बहुमत सिट जितेपछि सेनाले त्यसविरुद्ध कडा कदम चाल्ने अनुमान गर्दै आएको थियो । सेनाले निर्वाचनमा धाँधली भएको बताए पनि कुनै प्रमाण नदिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

उक्त मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । तर, गत हप्ता  सिनियर जनरलले ‘संविधान नै  रद्द’ गरिदिने चेतावनी दिएपछि अवस्था तनावपूर्ण बन्दै गएको थियो ।


कस्तो लाग्यो ?

यो पनि