बैशाख २८, २०८१, शुक्रबार
               

प्रचण्डले भट्टलाई ‘दलाल’ भनेपछि भाइरल १४ वर्षअघिको ‘तस्वीर’

नेपाल फ्ल्यास
माघ १८, २०७७

०६३ सालमा पत्रकार भोजराज भाटले कैद गरेको तस्वीर
ADVERTISEMENT

प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भयो । पहिलो अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्काे अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षमा नेता कार्यकर्ता विभाजित छन् । कार्यकर्ताको त कुरै छाडौँ लामो समयदेखि सँगै रहेका नेता अलग–अलग समूहमा भए । दशकौँ लामो समय सँगै खाँदै, बस्दै  राजनीति गरेका नेता हाल अलग भएपछि एक अर्काप्रति आरोपप्रत्यारोपमा उत्रिएका छन् । 

पछिल्लो उदाहरण हो, नेकपाको एउटा समूहको नेतृत्व गर्दै आएका अध्यक्ष प्रचण्ड विगतमा उनीसँगै सहकार्य गरेका, तर हाल ओली पक्षमा रहेका उद्योगमन्त्री लेखराज भट्टमाथि खनिए । 

भट्टकै गृह जिल्ला कैलालीमा पुगेर प्रचण्डले उनलाई ‘दलाल’ भने । भट्ट तिनै नेता हुन् जसले २०३८ सालदेखि प्रचण्डलाई  नजिकबाट साथ दिएका थिए । तर, अहिले संसद् विघटनसँगै ओली समूहका लागेका छन् ।

अध्यक्ष प्रचण्डले आफूले हुर्काएर मन्त्री बनाएको मान्छे ओलीको वरिपरि घुम्ने भएको भन्दै नेता भट्टलाई दलालको पनि दलाल भएको आरोप लगाए । प्रचण्डले भने, ‘मैले नै हुर्काएर मन्त्री बनाएको मान्छे, अब उनी केपीको वरिपरि घुम्ने भए, केपी ओली आफैँ दलाल हुन्, उनी (लेखराज भट्ट) दलालको पनि दलाल भए, पत्याइनसक्नुभयो । तर, ९५ प्रतिशत सुदूरपश्चिमका जनता हिलेका छैनन् । उनीहरुले दलालको भण्डाफोर गरेका छन् ।’

यसरी, आफूसँगै चारदशक सँगै रहेर सहकार्य गरेका, त्यसबीचमा सँगै जनयुद्ध लडेका भट्टलाई दलाल भनेपछि प्रचण्डको चौतर्फी विरोध भइरहेको छ । भट्टले गुट परिवर्तन गरेकै कारणले दलालको उपाधि पाएको भन्दै प्रचण्ड समूहकै नेता कार्यकर्ताले आलोचना गरिरहेका छन् । प्रचण्डको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा भट्टले प्रचण्डलाई मोटरसाइकलमा पछाडि राखेर गन्तव्यमा जाँदै गरेको तस्वीर भाइइरल भएको छ । क्याप्सनमा धेरैले आफूसँग हुँदा ‘नायक’ हुने र गुट परिवर्तन गर्नेबित्तिकै दलाल र गद्धार हुने भन्दै प्रचण्डको आलोचना गरेका छन् ।

जनयुद्ध लड्ने प्रचण्डका सारथिहरु मोह वैद्य, नेत्रबिक्रम चन्द (विप्लव), रामबहादुर थापा (बादल), लेखराज भट्ट, मणि थापा, प्रभु शाह, टोपबहादुर रायमाझीलगायत नेता अहिले प्रचण्डसँग छैनन् । उनीहरुसँग जोडिएका जनमुक्ति सेना, सहिद परिवार, घाइते अपांग, बेपत्ता परिवार, युद्धमा लडेका नेता कार्यकर्ताले प्रचण्डको साथ छाडिसकेका छन् । यसकारण ती सबै दलाल र गद्धार हुन् त भन्दै व्यांग्य गरिएका पोष्टले सामाजिक सञ्जालका भित्ता रंगिएका छन् ।

०६३ को असार पहिलो हप्ता डोटीको विपिनगरमा माओवादीले प्रशिक्षण कार्यक्रम राखेको थियो । प्रशिक्षणपछि अत्तरियास्थित भट्टको घरमा आउँदै गर्दा भट्टले चलाएको मोटरसाइकलपछाडि प्रचण्ड बसेका थिए । सोही क्रममा पत्रकार भोजराज भाटले तस्वीर खिचेका थिए । शनिबार प्रचण्डले भट्टलाई दलाल भनेपछि उही १४ वर्षअघि खिचिएको तस्वीर सामाजिक सञ्जालमा एकाएक भाइरल भएको  हो ।

अघिल्लो रात अर्कै घरमा प्रचण्डलाई सुरक्षित सेल्टरको व्यवस्था गरेका भट्टले बिहानै आफ्नो मोटरसाइकलमा घरमा ल्याउँदै गर्दा आफूले उक्त तस्वीर क्यामरामा कैद गरेको भाटले जानकारी दिए । 

सामाजिकसञ्जालमा यस तस्वीरको विषयमा वास्तविकता नबुझी अनेक टिप्पणी गरेको देख्दा आफूलाई दु:ख लागेको पत्रकार भाटले बताए । कतिपय सञ्चारमाध्यमले आफूलाई क्रेडिट नदिई फेटो प्रकाशन गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । 

उनी भन्छन्, ‘०६३ को असार पहिलो हप्ता, डोटीको विपिनगर प्रशिक्षणपछि अत्तरियास्थित लेखराज भट्टको घरमा आउँदै गरेको तस्वीर हो यो । अघिल्लो रात अर्कै घरमा प्रचण्डलाई सुरक्षित सेल्टरको व्यवस्था गरेका भट्टले सुटुक्कै आफ्नो मोटरसाइकलमा घरमा ल्याउँदै गर्दा मैले उक्त तस्वीर कैद गरेको थिए । अहिले यो तस्वीर सामाजिक सञ्जालमा जहीँतहीँ भाइरल भइरहेको छ, आआफ्नै तवरमा यसको विश्लेषण गरिएको छ । तर, वास्तविकता अर्कै छ । मेरो क्रेडिट कहीँ देख्दिनँ, यसमा मेरो घोर आपत्ति छ ।’

यो पनि