मंसिर ०७, २०८१, शुक्रबार
               

बाइडेनको प्राथमिकताबारे अमेरिकी राजदूतले गराए प्रधानमन्त्रीलाई जानकारी

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी अमेरिकाका नयाँ राष्ट्रपति बाइडेनका प्रमुख प्राथमिकताबारे जानकारी गराउनुका साथै त्यसबारे छलफल गरेका छन् ।

राजदूत बेरीले जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न बाइडन प्रशासन इच्छुक रहेकाे जानकारी दिएका छन् ।

‘अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ। हामी हाम्रा गठबन्धनहरूमा सुधार गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ । हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ,’ राष्ट्रपति बाइडनको भनाइ उद्धृत गर्दै बेरीले भनेका छन्, ‘हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ ।’

अमेरिकी दूतावासका अनुसार राजदूत बेरीले अमेरिकाको नयाँ प्रशासनले विश्वव्यापी संलग्नताको मुख्य उपकरणको रूपमा कूटनीतिलाई प्रयोग गर्ने कुरा प्रधानमन्त्री ओलीलाई बताएका थिए । 

राष्ट्रपति बाइडेनले कोभिड–१९ जस्ता साझा चुनौतीहरू समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगमा विश्वास गर्ने समेत उनले जानकारी गराएका थिए ।

त्यसका लागि राष्ट्रपति बाइडेनले विश्व स्वास्थ्य सङ्गठनमा अमेरिकाको सदस्यता पुनः सुचारु गरेकाेबारे पनि उनले जानकारी गराएका थिए ।

उनले अन्तर्राष्ट्रिय संस्थाहरूसँग अमेरिकाको सम्बन्ध पुनःस्थापना र नेपाललगायत विश्वभरका प्रजातन्त्रहरूसँगको साझेदारी पुनर्जीवित गरिने बताए ।

राष्ट्रपति बाइडेनले आफ्नो पहिलो कामका रूपमा पेरिस जलवायु सम्झौतामा पुनः सहभागी भएको बताउँदै उनले अमेरिकालगायतका देशहरूको जलवायु लक्ष्य बढाउने कूटनीतिक कदमको नेतृत्व गर्ने बताएका छन् ।

राजदूत बेरीले प्रधानमन्त्री ओलीसँगको भेटमा नेपाल जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेको बताएका थिए ।

उनले नेपालले आयाेजना गर्न लागेकाे सगरमाथा संवादलाई सफल बनाउन मद्दत गर्ने र जलवायु परिवर्तनका प्रभावहरूलाई कसरी मिलेर सम्बोधन गर्ने भनी छलफल गर्ने दूतावासको चाहना पनि व्यक्त गरेका छन् ।

बाइडन प्रशासनले स्वदेशमा र विश्वभर महिला तथा बालिकाहरूको अधिकार रक्षामा केन्द्रित हुने उनको भनाइ थियो ।

ओलीसँगकाे भेटमा बेरीले यी विषयहरूमा नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीसँगको सो भेट नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग नयाँ राष्ट्रपतीय प्रशासनको विश्वव्यापी प्राथमिकताबारे छलफल गर्न राजदूत बेरीले गर्ने उच्चस्तरीय बैठकहरूमध्ये एक भएको दूतावासले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि