संसद विघटन अlघिदेखि नै भारतप्रति नरम देखिँदै आएको प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारसँग भारत अझै पनि सशङ्कित रहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको तीन दिने भारत भ्रमणबाट स्पष्ट भएको छ ।
परराष्ट्र मन्त्री ज्ञवालीले तीन दिनसम्म नयाँ दिल्लीमा रहँदा भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने निकै प्रयत्न गरेका थिए । तर, मोदीले उनीसँग भेट्ने चाहना देखाएनन् । भारतीय सञ्चार माध्यम दि हिन्दुमा प्रकाशित समाचारलाई आधार मान्ने हो भने परराष्ट्र मन्त्री ज्ञवालीको नेतृत्वमा नयाँ दिल्ली गएको टोलीले भारतीय प्रधान मन्त्रीसँग भेटका लागि अन्तिम समयसम्म कसरत गरेको थियो ।
नेपाल–भारत संयुक्त आयोगको बैठकको समाप्ति पश्चात् आयोजित पत्रकार भेटघाट कार्यक्रममा समेत ज्ञवालीले मोदीसँग भेट हुनसक्ने आसा व्यक्त गरेका थिए । तर, सो विषयमा भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले केही पनि बोल्न रुचाएका थिएनन् ।
भारतीय विदेश सचिव हर्ष श्रृंङ्ला र सेना प्रमुख जनरल मनोज नरवाणेको भ्रमणलाई निकै प्राथमिकता दिँदै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले उनीहरूलाई भेट दिएका थिए । साथै सुटुक्क नेपाल आएका भारतीय गुप्तचर निकाय ‘र’ प्रमुख सामन्त गोयलसँग झन्डै मध्यरातमा प्रधानमन्त्री ओलीले भेटे पछि नेपाल र भारतको सम्बन्ध निकै न्यानो बनेको लख काटिएको थियो । ती भ्रमणहरूका कारण पनि ज्ञवालीले मोदीसँग भेट पाउने विश्वास मार्न सकेका थिएनन् ।
अतिक्रमित लिपुलेक, लिम्पियाधुरा तथा कालापानीलाई समेटेर नेपालले राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्नु तथा त्यसलाई प्रतिनिधि सभाबाट पारित गराउनु भारतलाई चिढाउने पछिल्लो प्रमुख कारण बनेको थियो । साथै ओली सरकारको सुरुवाती कालमा भारतलाई चिढाउने तथा चीनलाई च्याप्ने रणनीतिका कारण भारतले अहिले पनि ओली सकारलाई विश्वास गर्न सकिरहेको छैन ।
भारतीय प्रधानमन्त्रीले ज्ञवालीलाई नजर अन्दाज गर्नु भनेको भारत अझै पनि नेपालसँग असन्तुष्ट रहेको देखाउँछ । नेपालका लागि भारतका पूर्व राजदूत राकेश सुदको विचार पनि यस्तै छ । सुदका अनुसार नेपाल र भारतको सम्बन्धमा केही सुधार आए पनि जबसम्म नेपालले नयाँ नक्सामा सुधार गर्न आनाकानी गर्छ तबसम्म भारतले नेपाललाई विश्वास गर्न सक्दैन । दि हिन्दुसँग कुरा गर्दै सुदले भने, ‘मेरो विचारमा ज्ञवालीलाई प्रधानमन्त्री मोदीले नभेट्नुको पछाडि ओली सरकारलाई भारतप्रति अझै लचकता देखाउन सन्देश दिएको हुन सक्छ, किनभने यो यस्तो–उस्तो विषय होइन ।’
संयुक्त आयोगको बैठकमा भारतले सीमा विवादका विषयमा वार्ता गर्न नचाहनुले पनि भारतले नेपालबाट सीमा मामिलामा निश्चित आश्वासन खोजेको देखिन्छ ।
यद्यपि ज्ञवालीले नेपाली भूभाग हुँदै चीनसँग जोडिने मार्गको उद्घाटन गरेका भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग भने भेट गरे । भारतीय मन्त्रीमण्डलमा दोस्रो वरियताका मन्त्री सिंह समक्ष पनि ज्ञवालीले सीमाका विषय उठाउन सकेनन् । सो भेटमा सेनामार्फत सेनालाई सहयोग, मानवीय तथा राहत कार्य र दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने विषयमा मात्र कुराकानी भएको थियो । भेटपछि भारतीय रक्षा मन्त्रालयले जारी गरेको प्रेस नोटमा समेत सोही विषय उल्लेख छ ।
नेकपाका नेता तथा चीनका लागि पूर्व राजदूत टङ्क कार्की भारतले ओली सरकारलाई काम चलाउ सरकारका रूपमा लिएको तथा यस्तो सरकारसँग दीर्घ कालीन महत्त्वका विषयमा सन्धि सम्झौता हुन नसक्ने धारणा नेपाल फ्ल्याससँग राखे । साथै उनले परराष्ट्र मन्त्रीको भारत भ्रमणको समय नै सही नभएको बताउँदै मोदीले ज्ञवालीलाई भेट नदिनुलाई असमान व्यवहारका रूपमा परिभाषित गरे ।
‘उनीहरूका गुप्तचर निकायका प्रमुख आउँदा समेत नेपालका प्रधानमन्त्रीले गुपचुप भए पनि भेट्नु पर्ने अनि हाम्रा परराष्ट्र मन्त्रीलाई भेट्न आनाकानी गर्नुले भारत हामीसँग समान व्यवहार गर्न जान्दैन भन्ने फेरि एक पटक पुष्टि भएको छ,’ कार्कीले भने ।
परराष्ट्र बनेपछि प्रदीप ज्ञवालीको पहिलो भारत भ्रमण तथा सीमा विवादपछि कुनै पनि नेपाली मन्त्रीको औपचारिक पहिलो नयाँ दिल्ली यात्रा सोच अनुरूप फलदायी भने अवश्य हुन सकेन । तर, यो भ्रमणले ओली सरकारको राष्ट्रवादी नारालाई भारतले गलाएरै छाड्ने मनस्थिति बनाएको भने प्रस्ट भएको छ ।