जेठ ०७, २०८१, सोमबार
               

नेपालको स्वाभिमानमाथि भारतीय च्यानलको अर्को आक्रमण, सगरमाथाको नाम फेर्ने कथित अभियान

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिए लगत्तै भारतीय टेलिभिजन च्यानल जी न्युजले नेपालको स्वाभिमानमाथि अर्को धावा बोलेको छ । पटक–पटक नेपालका बारेमा विवादित सामग्री प्रसारण गर्दै आएको जी न्युजले विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम नै परिवर्तन गर्ने कथित अभियान घोषणा गरेको छ । प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता प्रसारण गरेको भोलिपल्टै सो च्यानलले सगरमाथामा भारतले दाबी गर्नुपर्ने भन्दै आपत्तिजनक सो सामग्री प्रसारण गरेको हाे ।

प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन आएका जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीको टोलीले 'सगरमाथामा भारतले दाबी ठोक्नुपर्ने' भन्दै सामग्री प्रसारण गरेको हो । प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिएपछि सो टोली हेलिकोप्टरमार्फत सगरमाथा पुगेको चौधरीले उल्लेख गरेका छन् । जी न्युज भारतमा समेत विवादित टेलिभिजन च्यानल हो । जी न्युजले भारतीय जनता पार्टी नेतृत्वको सरकारको इसारामा चल्ने गोदी मिडियाको उपनाम पाएको छ । 

यही टेलिभिजनकै प्रधान सम्पादक चौधरीले सगरमाथाको बेसक्याम्प कालापत्थरमा पुगेर सगरमाथाको सबैभन्दा पहिले भारतका राधानाथ सिकदरले उचाइ नापेको भन्दै उनकै नामबाट सगरमाथाको नामकरण गर्नुपर्ने दाबी गरेका छन् । 

राधानाथ सिकदरकै प्रेरणाबाट आफूले सगरमाथालाई नजिकबाट हेर्ने मौका पाएको पनि चौधरीले उल्लेख गरेका छन् । उनले कार्यक्रममा भनेका थिए, 'राधानाथ सिकदर भारतका महान् गणितज्ञ थिए । उनले सन् १८५२ मा पहिलो पटक विश्वकै सबैभन्दा अग्लो हिमालको उचाइ नापेका थिए । तर अङ्ग्रेजहरूले उनलाई यसको श्रेय दिएनन् । यस पर्वतको नाम जर्ज एभरेस्टको नाममा राखियो । जसले न त कहिल्यै एभरेस्ट देखेका थिए, न त उनलाई यसका बारेमा जानकारी नै थियो । त्यसैले आज हामी माग गर्छौँ कि माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर राख्नुपर्छ ।’

उनले यो जी न्युजको ठुलो अभियान भएको समेत बताएका छन् । उनी त्यतिमा मात्र रोकिएनन् । अगाडी भन्दै गए ‘हामीले १७ हजार ५ सय फिटको उचाइमा पुगेर सगरमाथाको नाम बदल्ने अभियान सुरु गरेका छौँ, यसको उचाइ नाप्ने र यसबारेमा संसारलाई भन्ने काम भारतका गणितज्ञ राधानाथ सिकदरले गरेका थिए । तर, अङ्ग्रेजले सम्मान जर्ज एभरेस्टलाई दिएका थिए । जसले कहिल्यै पनि संसारको सबैभन्दा अग्लो हिमाल देखेका समेत थिएनन् ।’

उनले भारतीयले अहिले पनि माउन्ट एभरेस्ट भनेर सगरमाथालाई भन्ने गरेको भन्दै यसको असली हकदार राधानाथ सिकदर भएको दाबी गरेका छन् । उनले सगरमाथामा पुगेर भनेका छन्, ‘यो शिखरको नाम राधानाथ सिकदारको नामबाट राखिएको हुनुन्थ्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदारको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ । भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि पुरै दुनियाँका सामुन्ने आफ्नो दाबी पेस गर्नुपर्छ ।’

चौधरीले भनेबमोजिमको ‘माउन्ट एभरेस्टमाथि भारतीय दाबीको अभियान’ पछिल्लो कार्यक्रमबाट सुरु भएको हो । उनले सगरमाथासम्बन्धी कार्यक्रमको मेसो पारेर प्रधानमन्त्रीको अन्तर्वार्ता लिए वा प्रधानमन्त्रीको अन्तर्वार्ताको मौका पारेर सगरमाथासम्बन्धी सुनियोजित रूपमा कार्यक्रम बनाए भन्ने कुरामा नेपालमा बहस भइरहेको छ । किनकि यसअघिकै कार्यक्रममा चौधरीले ‘माउन्ट एभरेस्ट पर भारतके दावे की मुहिम’ सुरु भएको बताएका थिए । उक्त कायृक्रम प्रसारणपछि नेपालभर विरोध भइरहेको छ ।

अपराधका मतियार सुधीर चौधरी 

माउन्ट एभरेस्टको नाम फेर्ने भन्दै कथित अभियान सुरु गरेका जी न्युजका वरिष्ठ सम्पादक सुधीर चौधरी तीनै हुन् जो दर्जनौँ फौजदारी अभियोगमा हिरासतमा बसिसकेका छन् । सुधीर चौधरी तिनै पत्रकार हुन्, जसले सन् २०१२ मा काँग्रेस सांसदसँग सय करोड घुस मागेका थिए । सोही मुद्दामा उनी १४ दिन तिहाड जेलको हावा खाएका थिए । 

काँग्रेस सांसद तथा व्यवसायी नवीन जिंदलसँग उनको कम्पनीको नाम कोयला घोटालामा नजोड्ने सर्तमा जी न्युजका सम्पादक द्वय सुधीर चौधरी र समीर अहलूवालियाले सय करोड घूस मागेका थिए । त्यति बेला उनलाई भारतीय जनताक पार्टीका शीर्ष नेताहरूले बचाएको चर्चा अझै पनि छ।

अन्तर्वार्ताका लागि जी न्युजका वरिष्ठ सम्पादक सुधीर प्रश्न सोध्न होइन, प्रश्नहरूको संहार गर्न बदनाम छन् । क्याराभान, वायरलगायत भारतीय स्वतन्त्र सञ्चारमाध्यमले उनको बदनामीका शृङ्खला नै छपाइसकेका छन् । जुन सामाग्री अहिले पनि इन्टरनेटमा पढ्न सकिन्छ। 

जी न्युज सत्तारुढ भारतीय जनता पार्टीप्रति खुलेआम सद्भाव राख्ने र खुल्लमखुल्ला दक्षिणपन्थी विचारधाराको वकालत गर्दै हिँड्ने च्यानल मानिन्छ । जसलाई भारतका उदार लोकतन्त्रवादीहरूले ‘गोदी मिडिया’ (भाजपा सरकारको गोदी अर्थात् काखमा बसेको) मिडियाको संज्ञा दिने गरेका छन् । 

सुधीर चौधरीसँगै अर्णव गोस्वामी, अञ्जना ओम कश्यपलगायतलाई गोदी मिडियाका सर्कसबाज मानिन्छन् । जसले पलपुर हुनलाई पपुलिस्ट हुने छोटो बाटो अख्तियार गरेका छन् उनीहरूले । कश्मीरमा राज्यले नागरिकमाथि हिंसा मच्चाउँदा होस्, या नागरिकता कानुनबारे आम भारतीय जनता बोल्दा– उनीहरू सत्ताका औजार बनेका थिए । कुनै तटस्थता, स्वतन्त्रता, विश्वसनीयता नरहेको मिडियाको सूचिमा उनीहरू रहेका छन् ।

यो पनि