मंसिर ०२, २०८१, आइतबार
               

के पृथ्वीनारायण शाहको निधन बाघको आक्रमणबाट भएको थियो ?

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

आधुनिक नेपालका निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन् । तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने । साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाडौँ उपत्यकाका तीन राज्यसहित धेरै राज्यलाई एकीकरण गरेका थिए ।

हरेक वर्ष २७ मा उनै पृथ्वीनारायण शाहलाई सम्झने र ‘दिव्योपदेश’ को चर्चा गर्ने एक प्रकारको कर्मकाण्ड चल्छ । पृथ्वीनारायण शाहको मृत्यु भएको मितिबारे खासै विवाद छैन । उनको मृत्यु विसं १८३१ माघ १ गते भएको हो । त्यति बेला उनी ५२ वर्षका थिए । तर उनको मृत्युको कारणबारे इतिहासका जानकारहरू एकमत छैनन् । पृथ्वीनारायण शाहको मृत्युबारे कस्ता धारणा देखिएका छन् । र प्रामाणिक तथ्यहरूले के भन्छन् यहाँ चर्चा गर्दैछौं ।

हामीले अध्ययनका क्रममा भेटेका पृथ्वीनारायण शाहका पालाका र त्यसपछिका पनि पद्य, वंशावली, ठ्यासफु, ईतिहासविद्का वर्णन आदिले उनको मृत्य विसं १८३१ माघ १ गते नै भएको देखाउँछन् ।

पृथ्वीनारायण शाहको मृत्युबारे पर्वतका राजाले भारदारलाई लेखेको पत्रमा ‘गोर्खाका राजा हामीमाथि दागा राखी दगा गर्न नुवाकोट आयाथ्या भगवत् इच्छा त आफैँ हेलिया’ लेखिएको छ । अर्थात् ‘गोर्खाका राजा हामीलाई सिध्याउन आएका थिए तर भगवानकाे इच्छाले आफैँ सिध्यिए’ भन्ने उल्लेख छ । अरू लिखतमा पनि उनी बितेको कुरा पाइन्छ। तर पत्रमा कुन रोग वा के कारणले उनको मृत्यु भएको भन्ने स्पष्ट पाइँदैन ।

बिफरबाट मृत्यू

विसं १९९२ मा भारतको दार्जेलिङबाट सूर्यविक्रम ज्ञवालीले निकालेको ‘पृथ्वीनारायण शाह’ नामक कृतिमा तत्कालीन सिक्किम र तिब्बततिरका मानिसहरूले सुने अनुसार’ पृथ्वीनारायण शाहको जीउमा फोकैफोका आएको थियो । त्यही घाउका कारण उनी बिते’ भन्ने विवरण दिइएको छ ।

बाघको आक्रमणबाट मृत्यु

विसं २००७ सालमा भारतकै बनारसबाट छापिएको रामजी उपाध्यायको ‘नेपालको इतिहास अर्थात् दिग्दर्शन’ भन्ने पुस्तकमा ‘पृथ्वीनारायण शाहले सिकार खेल्न जाँदा उनलाई बाघले झम्टियो ।

नुवाकोटको दरबारबाट करिव १० किलोमटिर पश्चिमतर्फ जालपादेवी मन्दिर रहेको देविघाट धाम छ । सो क्षेत्रमा उनी घोडामा सवार गरेर गए । देविघाटमा जंगल थियो । सो जंगलमा पृथ्वीनारायण शाहले बाघ भेटे । सिकार खेल्न गएका उनले त्यसलाई प्रहार गनै खोजे । तर मार्न सकेनन् ।

उल्टै बाघले पृथ्वीनारायण शाहलाई आक्रमण गर्याे । अनी उनको मृत्यु भयो’ भन्ने उल्लेख छ । पृथ्वीनारायण शाहको निधन भएकै ठाउँ देविघाटमा अहिले उनको पूर्ण कदको शालिक राखिएको छ । रामजीप्रसाद उपाध्यायले लेखेको चाहिँ इतिहास नै हो र त्यसबेला पनि त्यस्तो चर्चा रहेछ भन्ने त्यसबाट देखिन्छ । 

तर उनी राज्य विस्तारमा दत्तचित्त भएर लागेकाले र उनकै दिव्योपदेशमा नाचगान इत्यादिलाई निन्दा गरिएकाले पनि उनले जीवनको उत्तरार्धमा सिकार खेले होलान् भनेर पत्याउन सकिँदैन । सिकार गर्नु, जुवा खेल्नु, दिउँसो सुत्नु र बढी स्त्री सम्भोग गर्नुलाई राजनीतिशास्त्रका विद्वानहरूले राजाको दोषकै रूपमा मानेकाले र पृथ्वीनारायण शाहले यस्ता कुरामा परहेज गर्ने भएकाले पनि सिकार खेलेको र त्यसैबाट उनको मृत्यु भएको भन्ने विश्वास गर्न निक्कै गाह्रो हुन्छ । सिकार खेल्दा उनी साँच्चिकै घाइते भएका भए उनले दिव्योपदेश दिन समर्थ हुन्थे होलान् र ?

उनले त ‘अब म बाँच्दिन’ भन्ने लागेर रोग लागेपछि बल्ल त्यस्तो उपदेश दिएको देखिन्छ । उपलब्ध सामग्रीहरूका आधारमा भन्नुपर्दा बाघले उनलाई आक्रमण गरेको भन्ने विश्वास गर्न सक्ने आधार देखिँदैन । तसर्थ उनको मृत्यु सामान्य ढङ्गले नै भएको हुन सक्छ ।

पृथ्वीनारायण शाहको काट्टो खाने ब्राह्मण

झन्डै पाँच दशकअघि अनुसन्धाता मोहनप्रसाद खनालले पृथ्वीनारायण शाहको मृत्युको मितिबारे प्रश्न उठाउँदै पुस्तक सार्वजनीक गरेका थिए । उनले  पृथ्वीनारायण शाहको मृत्यु विसं १८३१ माघ १ गते भएको होइन भनेर लेखेका थिए । तर त्यसको पनि खण्डन भइसकेको छ । उनले लक्ष्मण खनाल भन्ने एक ब्रामणले पृथ्वीनारायण शाहको काट्टो खाएको पत्र छापेर यस्तो दाबी गरेका थिए ।

त्यो पत्रले पृथ्वीनारायण शाहको काट्टो खाने ब्राह्मण खनाल थरका नेपाली थिए भन्ने नयाँ कुरा पत्ता लगाए पनि मृत्युको दिन फरक परेको कुरा भने असत्य प्रमाणित भइसकेको छ । तर पछिल्लो समयमा नेपाली राजाहरूको काट्टो भट्ट ब्राह्मणलाई ख्वाउने चलन भने थियो ।

विराज भन्ने एक भारतीय लेखकले हिन्दीमा ‘नेपालेश्वर’ भन्ने उपन्यास लेखेका छन् । त्यहाँ पनि रामजीप्रसाद उपाध्यायले लेखेकै कुरा लेखिएको छ । विराजले लेखेको उपन्यास त उपन्यास नै भयो ।

त्यसमा काल्पनिक कुरा धेरै नहुने त कुरै  भएन । तर ऐतिहासिक उपन्यास भनिएपछि त्यसमा प्रामाणिक कुरा लेख्ने र जुन कुरामा इतिहास बोलेको छैन त्यसमा थप गर्नुपर्ने हो । तर त्यो देखिँदैन । त्यसले गर्दा विराजको उपन्यासको उक्त वर्णन कल्पित हो कि भन्न सकिन्छ ।


कस्तो लाग्यो ?

यो पनि