बैशाख २८, २०८१, शुक्रबार
               

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले लिए हस्ताक्षर फिर्ता

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका तीन सांसदले आफ्नो समर्थन फिर्ता लिएका छन् । 

उनीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयमा आफ्नो हस्ताक्षर फिर्ता लिएको जानकारी दिएका छन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं १० की रमा आलेमगर र चितवनका कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता लिएको नेकपा स्रोतले जनाएको छ ।

नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले गतसाता मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो । 

अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन अविश्वास प्रस्ताव दर्ता गराइएको छ । प्रचण्ड–माधव पक्षले दलको नेतासमेत अष्टलक्ष्मीलाई चयन गरिसकेको छ ।

हस्ताक्षर फिर्ता लिनेमध्येकी एक सांसद रमा आलेमगरले आफूले सोच विचार गर्दा प्रधानमन्त्री केपी ओलीले चालेको कदम नै सही लागेकाले अविश्वास प्रस्तावको पक्षमा नरहेको बताइन् । उनी र प्रकाश श्रेष्ठ ओली पक्षीय नेकपाको केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

११० सदस्यीय वागमती प्रदेशसभामा नेकपाका ८० सांसद छन् । ४५ मध्ये तीन जनाले हस्ताक्षर फिर्ता लिएपछि प्रचण्ड–माधव पक्षमा ४२ सांसद रहेका छन् भने ओली पक्षमा सभामुख सानुकमार श्रेष्ठसहित ३८ जना देखिएका छन् ।

यसैबीच, डोरमणि पक्षले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने अरु केही सांसद आफ्नो पक्षमा आउने दाबी गरेको छ । तर अष्टलक्ष्मी पक्षले अविश्वास प्रस्ताव पास हुने र ओली पक्षका सांसद आफ्नो पक्षमा आउने दाबी गरेको छ ।

अविश्वास प्रस्ताव पारित हुन ५६ जना सांसदले प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ । प्रचण्ड–माधव पक्ष एक्लैले अविश्वास प्रस्ताव पारित गर्न संख्या पुग्दैन । यदि कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेन वा तटस्थ बस्यो भने डोरमणि पौडेलको पद जोगिन सक्छ ।

तर उनले दल विभाजन भएर अल्पमतमा परेकाले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसको साथ चाहिन्छ ।

कांग्रेसले अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा रहने भन्नेबारे आफ्नो धारणा राखिसकेको छैन ।

यो पनि