जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्री ओलीको शैली : गम्भीर विषयमा हल्का टिप्पणी

ADVERTISEMENT

आफ्नो भाषणमा आफूले गरेको संसद विघटन र नयाँ चुनाव घोषणाबारे स्पष्ट तर्क भने राख्न सकेनन् । आफूले लोकतन्त्रप्रति  प्रहार गरेको भन्ने प्रचण्ड–नेपाल पक्षको आरोपको पनि ओलीको भाषणमा हल्काफुल्का टिप्पणीबाहेक खास केही भेटिएन ।

समकालीन राजनीतिज्ञमा सबैभन्दा वाकपटु नेता हुन्, प्रधानमन्त्री केपी शर्मा ओली । कुनै पनि विषयलाई सरल भाषामा रमाइलो तरिकाले प्रस्तुत गर्ने क्षमता उनमा छ । भाषणका क्रममा ओलीले प्रयोग गर्ने मौलिक उखान र टुक्का बढी मन पराइन्छ । यसैका कारण राजनीतिमा पटक्कै चाख नहुनेहरूका लागि पनि उनको भाषण रुचिकर हुन्छ । यहि शैलीकै कारण राजनीतिप्रसत रुचि नहुँनेहरू तथा भाषण भनेपछि दिक्क मान्नेहरू पनि उनको भाषण सुन्न मन पराउँछन् । 

प्रधानमन्त्री ओलीको भाषणमा कटाक्ष र रमाइलो बढी हुन्छ । सान्दर्भिक उखान र टुक्काको उत्कृष्ट प्रयोग, साना–साना घटनालाई रोचक तरिकाले प्रस्तुत गर्ने ओलीको फरक शैली छ । यस्तै भाषण समाचारहरूमा बिकाऊ हेडलाइनहरू बन्ने गर्दछन् ।

यति हुँदाहुँदै पनि गम्भीर विषयमा पनि ठट्यौलो प्रस्तुतिका कारण ओली आलोचित पनि उत्तिकै छन् । विरोधीहरूले भने उनको शैलीलाई सामाजिक सञ्जाललगायतमा ‘उखाने नेता’ भन्दै उडाइरहेका पाइन्छन् । 

विगतमा प्रतिपक्षमा रहँदा सरकारप्रति तीव्र कटाक्ष गर्ने गरेका ओली प्रधानमन्त्री रहँदा भने अलि नम्र देखिन्छन् की भन्ने सबैलाई थियो । तर उनको बानी किन छुट्थ्यो । विपक्षीलाई लगातार प्रहार गरिरहे । यतिसम्मकी प्रधानमन्त्री ओलीले संसद‍्मा आफूलाई  प्रयोग गरेको शब्दकै कारण विपक्षी काँग्रेसले हङ्गामा मच्चायो ।

उनले पछिल्लो समय पार्टी विभाजनपछि विपक्षी दलका नेतालाई भन्दा आफ्नै दलका अरू पक्षका नेतालाई बढी व्याङ्ग्य प्रहार गर्दै आएका छन् । 

राजधानीमा बुधबार भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दा पनि ओलीले पुरानै शैली दोहोलोर्‍याए । घुमाउरो भाषामा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रचण्ड–नेपाल पक्षीय अध्यक्ष माधवकुमार नेपालप्रति तिखो घोचपेच गरे ।

ओलीको आफ्नो भाषणमा आफूले गरेको संसद विघटन र नयाँ चुनाव घोषणाबारे स्पष्ट तर्क भने राख्न सकेनन् । आफूले लोकतन्त्रप्रति  प्रहार गरेको भन्ने प्रचण्ड–नेपाल पक्षको आरोपको पनि ओलीको भाषणमा हल्काफुल्का टिप्पणीबाहेक खास केही भेटिएन ।

करिब सवा घण्टा लामो मन्तव्यका क्रममा ओलीले प्रयोग गरेको ‘क्यारिकेचर, उखान तथा केही शब्दका बिम्ब भने धेरैले रुचाए । चाहे ‘साबुनका डल्लाका डल्लाले प्रचण्डलाई धोएँ’ भनिँदा होस् वा ‘अब चुनाव जित्न मतपत्र च्यात्नु पर्दैन’ भनी प्रचण्डलाई व्यङ्ग्य गर्दा भाषण सुन्नेहरूमा हाँसोको फोहोरा छुटाउन ओली सफल थिए । ‘माधवकुमार नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन्’ भन्दा त कार्यकर्ता लामै समय हाँसे । जे होस् ओलीको भाषण अवधिभर दर्शकवृन्दबाट २०–२२ पटक हाँसोका फोहरा छुटे ।

नेकपाको सुदूरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्दा प्रधानमन्त्री ओलीको मन्तव्यको केही रमाइला भाषणका अंशहरू यहाँ प्रस्तुत गरेका छौँ ।

चाहे ‘साबुनका डल्लाका डल्लाले प्रचण्डलाई धोएँ’ भनिँदा होस् वा ‘अब चुनाव जित्न मतपत्र च्यात्नु पर्दैन’ भनी प्रचण्डलाई व्यङ्ग्य गर्दा भाषण सुन्नेहरूमा हाँसोको फोहोरा छुटाउन ओली सफल थिए ।

  • बाँदर घर बसेन

ओलीले प्रचण्डलाई बाँदरको संज्ञा समेत दिन भ्याए । उनले भने ‘बाँदरले कुनै घर बनाउँदैन, बनायो कि भत्काउँछ । मैले पनि बाँदर लिएर बस्ती बसाउँछु भन्ने ठानेको थिए । तर किन हुन्थ्यो । तपाईँले पनि जङ्गलमा कुनै बाँदरले दु:ख पाएछ भनेर घरमा ल्याउनुभयो भने त्यो बस्छ त ?’

  • प्रचण्डसँगको सम्झौता एक विफ्रकेस 

प्रधानमन्त्री ओलीले प्रचण्डसँग आफ्ना एक विफ्रकेस सम्झौताहरू भएको बताए । उनले भने ‘सम्झौता, सम्झौता, सम्झौता कति सम्झौता गर्नु उहाँसँग मेरो एक विफ्रकेस सम्झौता भए होला ।’ प्रचण्डसँग जति सम्झौता गर्दा पनि अघि बढ्न नसकेकै कारण उनीहरू ढुङ्गाबाट छुटिएका ओलीले बताए ।

  • प्रचण्ड धृतराष्ट्र जस्तै

प्रधानमन्त्री ओलीले प्रचण्डले मित्रताको अँगालो हाल्छु भन्दै धितराष्ट्रले जस्तो अंगाल्लो हाल्ने काम गरेको आरोप लगाए । उनले भने ‘उहाँको ध्यान कसरी कब्जा गर्ने, कसरी हत्याउने मात्रै रह्यो । वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षिणपन्थीसँग बनाउन खोज्ने । लाज लाग्नु पर्ने होइन ?’

  • जति धोए पनि प्रचण्ड सफा भएनन्

राजनीति भनेको धोका र बेइमानी  होइन भनेर वर्षौ सिकाउँदा पनि प्रचण्डलाई सुधार्न  नसकिएको भन्दै ओलीले अर्को रमाइलो किस्सा सुनाए  । उनले भने ‘यी तीन वर्षमा मेरो धेरै टयांकी पानी खतम भयो होला, उहाँलाई धुँदा-धुँदा धेरै डल्ला साबुन सकियो, जति सफागरे पनि जति धोए पनि अन्तिममा उहाँ उस्तै देख्नुभयो ।’

  •  माधव नेपालको खिसिट्यूरी

प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता मात्रै भएको भन्दै खिसिट्यूरी गरे । ओलीले नेता नेपालको क्यारिकेचर गर्दै भने, ‘मलाई पदको लोभ छैन । यसो भन्ने उहाँ (माधव नेपाल) सधैँ उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो । उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुनेछ ।’ 

  •  माधव नेपालको क्यारिकेचर

ओलीले नेता नेपालको क्यारिकेचरसमेत गरे । ‘अपमान ! मान पाइनँ मैले ! ’ माधव नेपालमाथि टिप्पणी नगर्ने भन्दै उनले भने, ‘उहाँको के टिप्पणी गर्नु उहाँ प्रचण्डको कार्यकर्ता हुन जानुभयो कार्यकर्ताको के टिप्पणी गर्नू ?’

  •  दुई/चार सिटको लागि अग्रिम शुभकामना

प्रचण्ड नेपाल पक्षको सडक आन्दोलनप्रति समेत ओलीले टिप्पणी गरे । आन्दोलनभन्दा चुनावमा होमिन उनले सुझाव दिए । उनले भने ‘उहाँहरू वैसाखमा चुनाव पनि हुँदैन भन्नुहुन्छ । फेरि वैसाखमा ओलीको पार्टी पत्तासाफ हुन्छ पनि भन्नुहुन्छ । म उहाँहरूलाई भन्न चाहन्छु वैसावको चुनावको लागि राम्रो तयारी गर्नुहोस् । दुई/चार सिट ल्याउनुहुनेछ । अग्रिम शुभकामना । बरु सडकमा बसेर केही हुँदैन । कपडा मात्रै मैलन्छ ।’ 

  •  मतपत्र च्यात्नु पर्दैन 

ओलीले प्रचण्ड लक्षित अर्को कटाक्ष पनि व्यक्त  गरे । स्थानीय तह चुनावमा प्रचण्ड पुत्री रेणु दाहाललाई भरतपुर महानगरपालिकामा जिताउन मतपत्र च्यातेको प्रसङ्गको व्याङग गर्दै ओलीले भने ‘अव चुनाव हुन्छ । बत्ती निभाइने छैन, मतपत्र च्यात्नु पर्दैन । यस्तो तमासा लोकतन्त्रमा हुँदैन ।’ प्रचण्ड आफ्नो पोस्ट र परिवारको लागि मात्रै मरिमेटेको ओलीले बताए ।

  • मरे पनि प्रचण्ड–नेपालको आकाङ्क्षा पूरा हुन दिन्न

प्रधानमन्त्री ओलीले आफू मरे पनि प्रचण्ड–माधव नेपालको आकाङ्क्षा पूरा हुन नदिने उद्घोष गरे । ‘म मर्छु तर उहाँहरूको आकाङ्क्षा पुरा हुन दिँदिनँ । चुनाव हुँदैन भन्नुहुन्छ तर, अबको चुनावमा पत्तासाफ हुनुहुन्छ । अब चुनावको तयारी गर्नुहोस्,’ उनले भने, ‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस् । ’

  •  कमिलालाई काल आयो भने प्वाँख पलाउँछ

प्रधानमन्त्री ओलीले कमिलालाई पनि काल आयो भने प्वाँख पलाउने उदाहरण प्रस्तुत गर्दै प्रचण्ड–नेपाल समूहलाई त्यसैसँग तुलना गरेका छन् । ‘कमिलालाई काल आयो भने पखेटा पलाउँछ,’ उनले भने, ‘अहिले यिनीहरू फुरफुर गरेर हिँडेका छन् । यिनका हिसाब जनताले राखेका छन् ।’

  •  प्रचण्डले बनाएको कार्यकर्ता हुँ र म निकाल्नलाई ?

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षबाट आफूलाई कारबाही गरेको विषयमा प्रतिक्रिया समेत दिए । ‘केही मान्छेहरू किन उत्ताउलिएका हुन् । मिलेर चुनावमा जाऊँ भनेर प्रचण्डलाई भनेँ मान्नु भएन । उहाँ त केपी ओलीलाई पार्टीबाट निकाल्दिनेतिर लाग्नुभयो । प्रचण्डले बनाएको कार्यकर्ता हुँ र म निकाल्नलाई ?,’ ओलीले प्रश्न गरे ।

  •  कम्युनिस्टमा विभेद हुँदैन

उद्योग मन्त्री तथा लेखराज भट्टलगायत मन्त्रीहरू मञ्चमा रहेको सभालाई सबोधन गर्दै ओलीले कम्युष्टि पार्टीभित्र उत्पीडन नहुने बताए । पूर्वमाओवादीमा छँदा उत्पीडनमा परेको तर अहिले आफूले राम्रो भूमिका दिएर न्याय दिएको भन्ने सन्देश दिँदै ओलीले मञ्चमा रहेका मन्त्रीहरूलाई देखाउँदै भने ‘कम्युनिस्ट पार्टीमा विभेद हुँदैन । सुदूरपश्चिमबाट ४ जना मन्त्री यहीँ हुनुहुन्छ । केही साथीहरू अगाडि बढ्ने ढुङ्गा चढ्न मान्नुभएन, उहाँहरू किनारैमा छुट्यो ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि