काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीसँग भेटवार्ता गरेका छन् ।
मंगलबार राजदूत क्वात्राले सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमै पुगेर नवनियुक्त मन्त्री रायमाझीसँग भेटवार्ता गरी बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिए ।
मन्त्री रायमाझीले राजदूत क्वात्रासँग शिष्टाचार भेटवार्ता भएको बताए ।
भेटका असरमा नेपाल–भारत संयुक्त परियोजना, हाइड्रोपावर, प्रशारणलाइनका विषयमा छलफल भएको मन्त्री रायमाझीले जानकारी दिए । उनले राजदूत क्वात्राले मिलेर काम गर्न प्रस्ताव गरेको र आफू मिलेर काम गर्न तयार रहेको जवाफ दिएको बताए ।
‘उहाँ (राजदूत क्वात्रा) मलाई बधाई दिन मन्त्रालय आउनुभएको थियो, उहाँले मिलेर काम गर्न प्रस्ताव गर्नु भयो’, मन्त्री रायमाझीले भने, ‘मैले द्विपक्षीय हितका विषयमा मिलेर काम गर्न तयार रहेको जवाफ दिएँ ।’
राजदूत क्वात्राले पनि मन्त्री रायमाझीलाई भेटेर बधाई दिएको र संयुक्त परियोजनाहरूको कार्यान्वयन र द्विपक्षीय उर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको जानकारी दिएका छन् ।