जेठ ०६, २०८१, आइतबार
               

नेकपा भर्सेस नेकपा : कुन पक्ष वैध भन्ने लडाइँ सुरु

ADVERTISEMENT

एकीकरण भएको ३० महिनापछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजन भएको छ । औपचारिक रुपमा फरक दल दर्ता भईनसके पनि राजनीतिक रुपमा भने स्पष्ट दुई पक्षमा विभाजित भएका हुन् । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक-अर्कालाई कारबाही गरेसँगै नेकपाको अनौपचारिक विभाजनले पूर्णता पाएको हो ।

एक-अर्कालाई कारबाही गर्ने केन्द्रीय समितिको बैठक मङ्गलवार दुवै पक्षको बसेको थियो । मङ्गलवार ओली समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । त्यस्तै प्रचण्ड–माधव नेपाल समूहले थापाथलीस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।

ओली पक्षले प्रचण्ड र वरिष्ठ नेता नेपाललाई कारबाही घोषणा नगरे पनि पार्टी प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई कारबाही गरेको छ । श्रेष्ठलाई हटाउँदै सो पदमा परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई राखेको छ । यता प्रचण्ड–नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाउँदै वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाएको छ । 

यसरी दुवै पक्ष छुट्टाछुट्टै बैठक गरी निर्णय गरेपछि आफ्नो पक्षको आधिकारिकताका लागि दाबी गरेका छन् । यस्तो दाबी गर्दै दुवै पक्षले आफ्नो निर्णय निर्वाचन आयोगमा दिएका छन् । अनौपचारिक रुपमा विभाजन भएका दुई पक्षहरूबिच एक अर्कोलाई पार्टी नभई गुटगत गतिविधिको संज्ञा दिएका छन् । यससँगै नेकपामा अब कुन पक्ष वैध भन्ने लडाइँ सुरु भएको छ ।

यद्यपी अझै पनि दुवै पक्षले आफूहरूले पार्टी विभाजन गर्ने कुनै पनि काम नगरेको दाबी गर्न छाडेका छैनन् । बरु उनीहरूले एक अर्कोलाई भने आफ्नो पार्टीबाट फुटेर गएकाहरूको संज्ञा दिएका छन् । ओली पक्षले प्रवक्तालाई हटाउँदै खाली केन्द्रीय समितिको विस्तार गर्ने काम गरेको बताएको छ । उता प्रचण्ड पक्षले ओलीले अनुशासन नमानेकाले हटाएर अर्को अध्यक्ष बहुमतको निर्णयबाट राखेको बताएको छ ।

बैठकअघिकै कारबाही पत्र

ओली पक्षधरले प्रचण्डलाई कारबाही गरेको पत्र १ पुसमै निर्वाचन आयोगमा पुर्‍याएका थिए । तर ओली पक्षको केन्द्रीय कमिटीको भेला मङ्गलवार ७ गते मात्रै बसेको थियो । ओली पक्षधरले प्रचण्ड–नेपाल पक्षको बैठक नै अवैधानिक भएको बताउँदै आएका छन् । यस कारण आफूहरू नै आधिकारिक नेकपा भएको उनीहरूको दाबी छ ।

‘पार्टीको विधानमा महासचिवले जानकारी गराएको बैठक मात्रै आधिकारिक हुन्छ । पार्टीको अध्यक्ष, महासचिव र मान्य नभएको प्रचण्ड–माधव समूहको बैठक नै अवैधानिक छ,’ ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीको दाबी छ । निर्वाचन आयोगमा केपी शर्मा ओली मात्रै अध्यक्ष छन् । राजनीतिक रुपमा मात्रै नेकपामा दुई अध्यक्ष ओली र प्रचण्ड रहेको ओली पक्षका नेताहरूको दाबी छ ।

पार्टी फुटको आरोप एकअर्कालाइ

यता, प्रचण्ड पक्षधरले भने ओलीलाई मङ्गलवारको केन्द्रीय कमिटी बैठकमार्फत अध्यक्षबाट हटाइएको निर्णय गरेका छन् । यता प्रचण्ड पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि बालुवाटारमा भएको बैठक पार्टी विभाजनबाट जानेहरूको समूह भएको बताए । ‘बालुवाटारको बैठक चोइटिएर जानेहरूको भेला हो । त्यो कुनै आधिकारिक बैठक होइन,’ प्रवक्ता श्रेष्ठले भने ।

यता प्रधानमन्त्री ओली पक्षले पनि प्रचण्ड–नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाउने भनी गरेको कारबाहीलाई हास्यास्पद भएको प्रतिक्रिया दिएको छ । ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने, ‘यो हास्यास्पद कुरा हो ।’ उनले आफूहरूले पार्टी विभाजन गर्ने कुनै पनि काम नगरेको र खाली केन्द्रीय समितिको विस्तार गर्ने काम मात्र गरेको बताए ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि