जेठ ०३, २०८१, बिहीबार
               

संवैधानिक परिषद् बैठक सर्ने सम्भावना, यसकारण आउन चाहेनन् देउवा

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) का लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् ।

देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफू आउन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई गराइसकेका छन् ।

कांग्रेसले मंसिर २९ गते देशभर सरकारविरुद्धको प्रदर्शन गर्ने घोषणा गरिसकेको छ । सोही प्रदर्शनको तयारीका लागि व्यस्त रहने भएकाले परिषद् बैठकमा आफ्नो दलको उपस्थिति नहुने जानकारी सभापति देउवाले प्रधानमन्त्रीलाई गराएका हुन् ।

भागबन्डा नमिलेपछि...

तर कांग्रेस स्रोतअनुसार भागबन्डा नमिलेपछि देउवा आजको बैठकमा सहभागी नहुने भएका छन् । 

देउवा निकट एक नेताले भने, ‘शुक्रबार मात्रै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको अनौपचारिक छलफलमा समेत बैठकबारे छलफल भएको थियो ।’

तर हाल आएर एकतर्फी रूपमा सत्ता पक्षले नियुक्तिमा अडान लिएकाले भागबन्डा नमिल्दा देउवा बैठकमा नजाने भएको जानकारी दिए ।

कांग्रेसले अख्तियार तथा निर्वाचन अयोगमा आयुक्त दिनुपर्ने अडान लिएको ती नेताले बताए । यसैगरी अन्य निकायमा समेत सम्मानजनक स्थान दिनुपर्ने कांग्रेसको अडान छ ।

बैठक सर्ने सम्भावना 

प्रधानमन्त्री ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद् बैठक सर्ने सम्भावना देखिएको छ ।

प्रधानमन्त्री र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच बैठक सार्ने बारेमा छलफल समेत भएको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता संवैधानिक परिषदमा पदेन सदस्य रहने व्यवस्था छ । 

संवैधानिक परिषद्को बैठक आज (आइतबार) बिहान ९ बजेका लागि तोकिएको छ ।

रिक्त पदहरु

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बिभिन्न संवैधानिक आयोगहरुमा प्रमुख आयुक्त तथा आयुक्तहरु गरी ४५ पद रिक्त छ ।

राष्ट्रिय मानवअधिकार आयोग : अध्यक्ष र ४ आयुक्त
अख्तियार दुरुपयोग अनुसन्धान आयोग : प्रमुख र २ आयुक्त
निर्वाचन आयोग : २ आयुक्त
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग : ४ आयुक्त
राष्ट्रिय महिला आयोग : अध्यक्ष र चार आयुक्त
राष्ट्रिय दलित आयोग : अध्यक्ष र चार आयुक्त
समावेशी आयोग : अध्यक्ष र तीन आयुक्त
आदिवासी तथा जनजाति आयोग : अध्यक्ष र चार आयुक्त
मधेसी आयोग : चार आयुक्त
थारु आयोग : चार आयुक्त
मुस्लिम आयोग : चार आयुक्त


कस्तो लाग्यो ?

यो पनि