जेठ ०२, २०८१, बुधबार
               

‘समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा छ’

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टी कै काँधमा भएको बताएका छन् । नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौसर शाहसहित १०९ जना नेता तथा कार्यकर्तालाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने “हाम्रो पार्टी भित्र चल्ने बहस र छलफलहरू त्यही समाजवादतिरको यात्राका लागि हुन् । समाजवादतिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरूलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्दति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरू हुन् ।”

अध्यक्षले संघीय लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फुलाउने र यस प्रणालीमार्फत देशमा आर्थिक विकासको नयाँ यात्रा तिर आफूहरू अगाडि बढेको बताए । उनले अगाडि भने, “यो बेला पक्कै पनि चुनौतिहरू आउँछन् । ती समस्या र चुनौतिको पनि सामना गर्न सक्ने तागत कम्युनिष्ट पार्टी भित्रै छ । कम्युनिष्ट पार्टीले आफैं भित्रबाट त्यो तागत पैदा गरेर हामीले समाजवाद तिर लाग्नेछौं ।”

उनले नवआगन्तुकलाई स्वागत गर्दै पार्टीमा योग्यता, क्षमता र अनुभवका आधारमा उचित जिम्मेवारी दिइने र एक भएर उक्त जिम्मेवारी पुरा गर्ने विश्वास दिलाए ।

 कार्यक्रममा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले संविधानसभा सदस्य रही सकेकी शाहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताए, ‘मन मिल्नेहरू एउटै ठाउँमा आउँदा रहेछन् । मानिसहरूको बानी व्यहोरा र चिन्तन प्रणालीले एक ठाउँमा ल्याउने सहेछ ।’ पार्टीमा प्रवेश गर्दै नेतृ शाहले नेपाली काँग्रेसमा गुण्डा पाराले पार्टी भित्र हैकम चलाएकाले आफूले सो पार्टी परित्याग गरेको बताउनुभयो । उहाँले देशमा आएको जाति, लिंग र समुदायहरूमा आएको परिवर्तन कम्युनिष्ट पार्टीले नै ल्याएको दाबी गरिन् । 

काठमाडौं महानगरपालिकाको नेपाली काँग्रेसको नगर सदस्य रहेकी उनी विगतमा नेपाल विद्यार्थी सङ्घ पद्यकन्या क्याम्पसमा नेविसङ्घमा आवद्ध थिइन् । 


कस्तो लाग्यो ?

यो पनि