जेठ ०६, २०८१, आइतबार
               

भारतीय उच्च अधिकारीको लगातारको भ्रमणको कूटनीतिक सन्देश

ADVERTISEMENT

सीमा विवादले निम्त्याइदिएको नेपाल र भारतबिचको तिक्तता र त्यससँगै देखिएको संवादहीनता कायम हुँदै गर्दा भारतीय प्रतिनिधिको लगातार नेपाल भ्रमण भइरहेको छ । पछिल्लो एक महिनाको बीचमा भारतबाट तीन वटा महत्त्वपूर्ण भ्रमण भए । भारतीय प्रधानमन्त्रीको ‘विशेष दूत’ बनेर आएका सामन्त गोयलको भ्रमण, भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण र भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाको भ्रमण भए । 

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख गोयलको भ्रमण विवादमा परे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरूसँग भारतीय प्रधानमन्त्रीले विशेष दूतको रूपमा पठाएको ब्रिफिङ गरेका थिए । यी तीनवटै भ्रमणको मुख्य सन्देश नै दुई देशबीच देखिएको संवादहीनताको अन्त्य र समझदारी निर्माण गर्नु थियो ।

नेपालमा कोरोनाभाइरस महामारी अझै बढ्दो छ । अन्तर्राष्ट्रिय सीमानाका पनि बन्द छन् । तर गोयल, नरवणे र विदेश सचिव श्रृंगलाको लागि नेपाल भ्रमण गर्न ती कुनै कुरा बाधक भएनन् । यसपछि धेरैलाई लागेको छ  ‘दुवै देश राजनीतिक तहको संवादको बाटोमा फर्किने वातावरण बन्दै गएको छ । ’

भारतीय विदेश सचिव श्रृगलाको नेपाल भ्रमणको क्रममा बिहीबार नै काठमाडौंमा परराष्ट्र सचिव स्तरमा बैठक भयो । जहाँ दुई देशबीच पछिल्लो समय देखिएका समस्याको बारे छलफल भयो । सचिवस्तरीय संयन्त्रलाई दुई देशका समस्या समाधान गर्ने औपचारिक र स्थायी संयन्त्र मानिँदै आएको छ । राजनीतिक तहमै टुङ्ग्याउनु पर्ने कालापानीको विषय र सीमा विवाद सचिव स्तरीय बैठकबाट नटुङ्गिए पनि औपचारिक संवादको सुरुआतलाई सकारात्मक मान्नुपर्छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि त्यो संवाद अगाडि बढ्ने र निर्णायक अवस्थामा पुग्ने आशामा देखिन्छन् । विहीबार श्रृंगलासंगको सामूहिक तथा एकल छलफलपछि उनले भने ‘मैले विदेश सचिवसँगको कुराकानीको सारबाट भारतले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाएर लैजाने इच्छासहितको सन्देश दिन खोजेको बुझेको छु, अब नेपाल–भारतबिच छलफलहरूको शृङ्खला अगाडि बढेको छ ।’

नेपाल र भारतबिच लामो समयदेखि कूटनीतिक तहको वार्ता हुन नसकेको अवस्थामा पछिल्ला भ्रमण महत्त्वपूर्ण रहेको जानकारहरूको टिप्पणी छ । भारतीय विदेश सचिवको भ्रमणलाई त अझ कतिपयलाई कूटनीतिक तहको ‘आइस ब्रेक’ भन्दै धेरैले अर्थाएका छन् । 

वार्तामै नबस्ने, सम्पर्क मै नबस्ने भनेर भारतले अर्घेल्याइँ गर्दै आएको बेलामा अहिले त्यो क्रम अन्त्य भएको भारतका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालिसकेका काँग्रेस नेता दीपकुमार उपाध्याय बताउँछन् । उनी भन्छन् ‘नेपाल–भारत संवादहीनता तोडिएको छ, संवादको क्रम बढ्दै गएको छ । यो सकारात्मक पक्ष हो ।’

नेपाल– भारत सीमा विवाद र त्यसपछिका पछिल्ला घटनाक्रम

  • विसं २०७६ कार्तिक १६ : भारतले जम्मू कश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि जारी नयाँ नक्सामा लिम्पियाधुरा कालापानी समावेश
  • विसं २०७६ कार्तिक २० : कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्ति
  • विसं २०७६ कार्तिक २१  :  भारतको विदेश मन्त्रालयले आफ्नो नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै हेरफेर नगरेको भनाइ
  • विसं २०७६ मङ्सिर ३  :  भारतको नयाँ नक्साबारे भारत सरकारलाई ’कूटनीतिक नोट’ पठाउँदै सुगौली सन्धिअनुसार काली (महाकाली नदी) पूर्वको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको कुरा पुनःस्मरण गराइएको नेपालको परराष्ट्र मन्त्रालयको भनाइ
  • विसं २०७७ वैशाख २६ : भारतका रक्षामन्त्री राजनाथ सिंहद्वारा नेपालले दाबी गरेको धार्चुला लिपुलेक क्षेत्रमा निर्मित तिब्बतमा रहेको कैलाश मानसरोवर जोड्ने सम्पर्क सडक सञ्जालको भिडिओ कन्फरेन्समार्फत् उद्घघाटन
  • विसं २०७७ वैशाख २७ : सडक निर्माण गर्ने एकतर्फी गतिविधि प्रधानमन्त्रीका तहमा समेत गरी दुई देशबिच भएका समझदारीविपरीत रहेको नेपालको भनाइ
  • विसं २०७७ वैशाख २७  :  भारतको विदेश मन्त्रालयले सडक सञ्जाल उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने भारतीय सीमाभित्रै रहेको प्रतिक्रिया
  • विसं २०७७ जेठ ७  :  नेपालको मन्त्रिपरिषद्ले पारित गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी
  • विसं २०७७ जेठ ३१ :  नेपालले जारी गरेको नयाँ नक्साअनुसार निसान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित
  • विसं २०७७ भदौ १ : नेपाल र भारतका उच्च अधिकारीबीच भर्चुअल बैठक, भारतीय सहयोगप्राप्त परियोजनाबारे छलफल
  • विसं २०७७ कात्तिक ५  :  भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलको नेपाल भ्रमण 
  • विसं २०७७ कात्तिक १९ :  भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण
  • विसं २०७७ मसिंर ११ :  भारतीय विदेश सचिव हर्षवर्दन श्रींगलाको नेपाल भ्रमण
पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि