जेठ ०६, २०८१, आइतबार
               

नेपाल–भारत कूटनीतिक सम्बन्धमा ‘आइसब्रेक’, औपचारिक वार्ता सुरु
राजनीतिक तहमा वार्ता गर्न परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली जाँदै

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार शिष्टाचार भेट गर्दै नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला । तस्बिर : प्रधानमन्त्रीको सचिवालय
ADVERTISEMENT

नयाँ नक्सा प्रकाशनपछि धमिलिएको नेपाल–भारत कूटनीतिक तथा राजनीतिक सम्बन्ध सुधार गर्न नेपाल र भारतबिच औपचारिक वार्ता प्रारम्भ भएको छ । भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो नक्सामा राखेपछि सुरु भएको विवाद समाधानको पहलस्वरुप ढिलै भए पनि वार्ता सुरु भएको हो ।

भारतले नक्सा सार्वजनिक गरे लगतै समाधानको लागी नेपालले कूटनीतिक नोट जारी गरे पनि भारतले बेवास्ता गर्दै आएको थियो । कोरोना महामारीका बिचमा उल्टै नेपाली भूमि लिपुलेकमा सडक उद्घाटन गरेको थियो । त्यसपछि दुई देश विचको सम्बन्ध झनै चिसिएको थियो ।

सीमा समस्या वार्ताबाटै समाधान गर्नुपर्ने र दुई देश वार्तामा बस्नुपर्ने भन्दै नेपालले कूटनीतिक नोट पठाए पनि उसले बेवास्ता गर्दै आएको थियो । गत वर्ष भदौ ४ मा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बसेयता सीमा विवादलगायतका कारण ‘संवादहीनता’ रहँदै आएको थियो । 

तर पछिल्लो समय भने संवादहीनता पन्छाउँदै सिमाना विवादका विषय द्विदेशीय छलफलको प्रक्रियामा भारतले चासो देखाएको छ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासँगको छलफलमा आएका धारणाबाट भारतले लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको सीमा विवाद राजनीतिक नेतृत्व तहबाट समाधान चाहेको देखिएको छ । 

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव श्रृंगलासँगको विहीबार एकल तथा सामूहिक भेटवार्तामा परराष्ट्रमन्त्री र सचिवसहितका अधिकारीले नेपालको राजनीतिक नक्साको आधिकारिकता तथा सिमाङ्कन प्रमाणिकताको सरोकार उठाए ।

विदेश सचिव शृङ्गलाले पनि ‘लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको सीमा विवाद राजनीतिक नेतृत्व तहबाट समाधान चाहेको र वार्तामा बसेर समाधान खोज्न तयार रहेको’ जवाफ दिए । 

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव श्रृंगलासँगको विहीबार काठमाडौंमा भएको सामूहिक भेटवार्ता

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र बैठक अथवा आवश्यकताअनुसार अरू तहको छलफलबारे छिट्टै तालिका निर्धारण हुनेबारे भारतीय विदेश सचिवसँगको छलफलमा कुराकानी भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन् । ‘मैले विदेश सचिवसँगको कुराकानीको सारबाट भारतले नेपालसँगको सम्बन्धलाई सृदृढ बनाएर लैजाने इच्छासहितको सन्देश दिन खोजेको बुझेको छु,’ विहीबार दुईपक्षिय छलफलपछि परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन् ।

नेपालले संविधान संशोधन गरी यी भूभागलाई नेपालको नक्सामा समावेश गरिसकेको अवस्थामा भारतले यसलाई राजनीतिक तहमै समाधान खोजेको परराष्ट्र निकट स्रोत बताउँछ ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने ‘सीमा समस्यालगायत दुई देशबिचमा जे जति आउटस्ट्यान्डिङ विषय छन्, तिनीहरूलाई पनि समाधान गर्दै जाने र त्यसका लागि प्रक्रियामा राखेर अघि बढ्न भारतले चासो देखाएको छ।’

दिल्ली जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

एक वर्ष लामो तिक्तता तोड्दै दुई देशबिच संवादको सुरुवात भए लगतै राजनीतिक तहमा वार्ता सुरु गर्न परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली जाने भएका छन् ।

भारतीय विदेश मन्त्री एस. जय शंकरको निमन्त्रणामा ज्ञवाली दिल्ली जाने परराष्ट्र स्रोतको दाबी छ। जय शंकर यसअघि विदेश सचिव थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा उनी विदेश मन्त्री बनेका हुन् ।

जय शंकर विदेश मन्त्री भएपछि उनको पाहुना भएर ज्ञवाली नयाँ दिल्ली गएका छैनन् । जय शंकर भने गत वर्ष २०१९ अगस्टमा नेपाल आएका थिए ।

दुई देशबिचको मन्त्रीस्तरीय आयोगको बैठकमा नेपाल आएका उनले परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए । परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणको तयारी गर्दै थिए । यत्तिकैमा भारतीय पक्षबाट नेपाली भूमि समेटेको नक्सा जारी भएपछि बढेको तनावका कारण भ्रमण रोकिएको थियो । 

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

अब भने भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमणले दुई देशबिचको विदेश मन्त्री तहमा हुने बैठकका लागि समेत बाटो खुलेको छ। त्यही बैठकका लागि परराष्ट्रमन्त्री डिसेम्बरको मध्यदेखि जनवरीको सुरुवातमा नै भारत भ्रमण गर्न सक्ने परराष्ट्र स्रोतको दाबी  छ।

लामो समयदेखिको राजनीतिक तथा कूटनीतिक संवादहीनतामाझ कूटनीतिक तहमा भएको कुराकानीलाई केही विज्ञहरूले ‘आइस–ब्रेक’ संज्ञा दिएका छन् । उनीहरु भन्छन् ‘यो आइस–ब्रेक हो, यसले दुई देशबिच अल्झेर बसेका मुद्दामा छलफल अघि बढाउने वातावरण बनाएको छ ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि