काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु भएको छ ।
सचिवालय सदस्यले बैठक बसाउन निकै मिहिनेत गरेपछि मात्र अध्यक्ष ओली सो बैठक बसाउन सहमत भएपछि शुक्रबार सो बैठक बसेको हो । बिहीबार महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजेका लागि सो बैठक बोलाएका थिए ।
भदौ २६मा नेकपा पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी र सरकार दुवै अध्यक्षको सहकार्यमा सञ्चालन गर्ने सहमतिलाई बेवास्था गरी एकलौटी रुपमा अघि बढेको भन्दै बहुमत सचिवालय सदस्य प्रधानमन्त्री ओलीको आलोचना र गुटगत भेला गर्दै आएका थिए । यसका अलला प्रधानमन्त्री ओलीसमक्ष बैठक बोलाउन माग पनि गरेका थिए ।
बैठकको खास एजेण्डा नै पार्टीभित्रको आन्तरिक विवाद भएका कारण दुवै पक्ष आ-आफ्नो रणनीति बनाइ एक अर्काको प्रतिरक्षा गर्ने रणनीतिका साथ उनीहरु अघि बढेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायत असन्तुष्ट सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सल्लाह नै नगरी महत्वपूर्ण राजनीतिक नियुक्तिलाई निरन्तरता दिएको भन्दै असन्तुष्ट छन् ।
२६ भदौको पार्टी स्थायी कमिटी बैठक र विवाद समाधानका लागि गठित कार्यदलले दिएको म्यान्डेट विपरित ओली अघि बढिरहेपछि दाहाल-नेपालसहितका बहुमत सचिवालय सदस्यहरूले अब कसरी प्रस्तुत हुने भनेर छलफल तीव्र पारेका छन् ।
अध्यक्ष दाहालसहितका सचिवालय सदस्यहरु पार्टी निर्देशनविपरित ओली अघि बढिरहेकाले उनीविरूद्ध बहुमतमा निर्णय गरेर अघि बढ्ने तयारीमा रहेको बुझिएको छ । यसका अलवा उनीहरुले बहुमतमा निर्णय भए पार्टी नै फुट्नेसम्मको चेतावनीबारे प्रष्ट मनसाय बुझेर अघि बढ्ने तयारी गरेको बुझिएको छ ।
त्यसैगरी, ओली पक्ष भने पार्टीको काममा केन्द्रित हुने पर्ने दाहालले स-साना नियुक्ति र सरकारी काममा पनि हस्तक्षेप गरेको ठहर गर्दै पार्टी र सरकार सञ्चालनमा दुई अध्यक्षको कार्यादेश प्रष्ट हुने गरी प्रष्ट कार्यविभाजन गरी अघि बढ्नु पर्ने विषय छलफलमा लान लागेको छ ।