बैशाख २३, २०८१, आइतबार
               

२२ राजनीतिक दलले सरकारविरुद्ध प्रदर्शन गर्ने

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

काठमाडौं । मंसिर ७ मा विभिन्न २२ राजनीतिक दलले माइतीघरमण्डलामा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

२१ दलको बैठकले वामपन्थी संगठन– समाजवादी राष्ट्रिय मञ्चलाई पनि कार्यगत एकतामा सामेल गरी सरकारका गलत काम कारवाहीको विरोधमा २२ दलबीच कार्यगत एकता गरी सो आन्दोलन हुन लागेको हो । माइतीघर मण्डलामा हुने भनिएको सो आन्दोलन सरकारका ‘राष्ट्रघाती’ र ‘जनघाती’ कदमका विरुद्ध हुने बताइएको छ । 

सो जानकारी सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘यसका निमित्त आगामी मंसिर ७ गते दिनको १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रमको आयोजना गरिनेछ,’ सो  विज्ञप्तिमा भनिएको छ, ‘यसै प्रकारको कार्यक्रम देशका सबै प्रदेशले कम्तीमा एक–एक स्थानमा समेत आयोजना गर्ने प्रयत्न गरिनेछ ।’

कार्यगत एकतामा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी छन् । यस्तै, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र नेपाल, एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) पनि कार्यगत एकतामा सामेल छन् ।

जसअन्तर्गन अमेरिकी संस्था एमसीसीसँग नेपालका विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क  उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था लगायत विषय समेटिने बताइएको छ । 

यस्तै, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयमा कार्यगत एकताले गर्दै आएको संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरिएको सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि