काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिइएको छ । ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी शाक्यलाई दिएको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् ।
उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनइए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए ।
यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औँ तहका लागि बढुवा भए पनि ११ औँ तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएको थियो । त्यसैले वरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि छन् ।
घिसिङको पुर्ननियुक्तिमा असहमत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको वरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएका थिए । तर, ऊर्जा मन्त्री भने सो कुरामा असन्तुष्टि थिए ।