काठमाडौं । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।
प्रचण्डसहितका पाँच नेताले शनिबार अध्यक्ष ओलीलाई भेटेर तत्काल पार्टीको बैठक बोलाउन लिखित पत्र बुझाएपछि केही दबाबमा परेका ओलीले पार्टीका वरिष्ठ नेता माधवसँग भेट गरेको भोलिपल्ट महासचिव पौडेल ओलीको सन्देश लिएर खुमलटार पुगेका हुन् । शनिबार सचिवालयका पाँच सदस्यले दुई दिनभित्र सचिवालय बैठक बोलाउन समयावधि तोकेका थिए । जुन समय आज सकिँदै छ ।
पार्टी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्ष सहमति गर्नुपर्ने बताउँदै आएका ओलीलाई बहुमत सचिवालय सदस्यले बैठक माग गरेपछि उनी नैतिक दबाबमा छन्। एक स्रोतका अनुसार उनले शनिबार र आइतबार महासचिव पौडेललगायत आफूपक्षीय नेतासँग छलफल गरेका छन् ।सोही छलफलको सन्देश लिएर महासचिव पौडेल खुमलटार गएको बुझिएको छ।
पार्टीभित्र संकटमा परेका ओलीले आइतबार दिउँसो वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका चार नेतासँग छलफल गरेर आफूलाइ सहयोग गर्न र पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेका थिए।