काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा छलफल सुरु भएको छ ।
कार्यकारी अध्यक्षसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको भोलिपल्ट अर्थात् आइतबार ओली-नेपालबीच छलफल सुरु भएको हो ।
एक स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेपाललाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।सो स्रोतका अनुसार यतिखेर बालुवाटारमा दुई नेताबीच छलफल चलिरहेको छ । छलफलमा नेपालले आफूनिकट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई सहभागी गराएका छन् ।
प्रधानमन्त्री र अर्का अध्यक्ष दाहालबीच कुरा नमिल्दा नेकपामा विवाद बल्झिँदै गइरहेको छ । सोही विवाद समाधानका लागि यसअघि पटक-पटक प्रयास गर्दा पनि दुई अध्यक्षबीच कुरा नमिलेपछि शनिबार पार्टी सचिवालय सदस्यमध्ये पाँच जना ओलीसमक्ष पार्टीको बैठक बोलाउन लिखित माग लिएर गएका थिए । तर, ओलीले सो माग ठाडै अस्विकार गरिदिएका छन् । जसका कारण अब नेकपाको कार्यदिशा कता भनी अन्योलता छाएको छ।
शनिबारको बैठकमा नेता नेपालले ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । त्यसको अर्कोदिन ओलीले छलफलका लागि बोलाएकाले यो छलफललाई निकै महत्वका साथ हेरिएको छ । अझ यो छलफल महत्व हुनुको अर्को कारण ओलीमाथि जबज ब्यूँताउन आरोप लागिरहँदा भएको यो छलफल अझ महत्व बढाएको छ ।
यसअघि कार्तिक ५ र ११ मा प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए । तर, नेपालले लगातार पार्टीलाई विधि र पद्धतिमा चलाउन माग गर्दै आएका छन् ।