काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयललाई भेटेको विषय विवादित बनेका बेला थापाले सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको बताएका हुन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल ट्विटरमा थापाले लेखेका छन्, ‘भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदुरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो,’ उनले अगाडि लेखेका छन्, ‘तर सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका अकर्मण्यता र गलत नीतिको परिणास्वरुप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ ।’
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका थापाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्न आग्रह समेत गरेका छन् ।
भारत र चिनसंगको सम्वन्धमा रणनीतिक संतुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो।तर,सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ।देशको स्वतन्त्रता/अस्तित्ववारे समयमै सचेत बनौं
— Kamal Thapa (@KTnepal) October 30, 2020