काठमाडौं । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य सुरु भएको छ ।
यसका अलाव तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन शुरु भएको छ ।
स्थायी राजधानीको टुंगो लागिसकेको अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अध्ययन थालेको छ ।
जसका लागि राप्ती गाउँपालिकाका पूर्वाधारको अध्ययनसहित बिहीबार छलफल भएको बताइएको छ । प्रदेश प्रमुख सचिवसँग सदन चलाउन सक्ने गरी व्यवस्थापन गर्न सकिने ठोकुवा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए।
‘हामीले पहिलेदेखि नै भन्दै आएका छौँ, जिम्मेवारी लिन तयार छौँ’, उनले भने, ‘हामीले ठाउँ सबै ठाउँ देखाएका छौँ ।’ राप्ती प्राविधिक शिक्षालयको भवनमा तत्कालका लागि प्रदेशसभा बैठक बसाल्न र मन्त्रालयका कार्यालय राख्न पुग्ने संरचना रहेको जनाइएको छ ।