जेठ ०६, २०८१, आइतबार
               

पुराना राजनीतिकर्मी यज्ञप्रसाद आचार्यको निधन

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन भएको छ । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंंको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यको मङ्गलबार राति निधन भएको हो ।

उनको राति नै दाहसंस्कार गरिएको परिवारले जनाएको छ  । जहानियाँ राणाशासन विरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको तेह्रथुमका लागि उनले सत्याग्रही कमाण्डर बनेर नेतृत्व गरेका थिए । 

राजपरिषद् स्थायी समितिका सदस्य पनि रहेका आचार्यको नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि योगदान रहेको छ । वामपन्थी  पृष्ठभूमिका उनी २०१६ देखि धरान नगरपालिकाको तीन पटक प्रमुखमा निर्वाचित भए ।

उनकै अगुवाइमा नेपालमै पहिलो पटक सामुदायिक विजुली उत्पादनगृह (पावर हाउस) स्थापना भई धरानमा विद्युत वितरण गरिएको थियो । आचार्यका तीन कथासङ्ग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे‘, जे भोगे’ प्रकाशित छ ।

आचार्यले २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि हाल रहेका दलहरुले देशमा राष्ट्रवादी आन्दोलनको महत्वपूर्ण कार्यभार पूरा गर्न नसक्ने दाबी गर्दै पञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न हुन अस्वीकार गरेका थिए । त्यसयता आचार्यले राष्ट्रवादी अभियन्ताहरुलाई सघाउँदै आएका थिए ।

उनको २०१२/०१३ सालमा नेपाल कम्युनिष्ट पार्टी पक्षधर अखिल भारत नेपाली विद्यार्थी फेडेरेसन र युवा संघको निर्माणमा महत्वपूर्ण योगदान रहेको थियो । आचार्य अखिल भारत नेपाली विद्यार्थी संगठनका संस्थापक, भारतको काशी हिन्दू विश्वविद्यालयको नेपाली छात्र संघका अध्यक्ष र सन् १९५४ मा बनारसमा भारतीय कम्युनिष्ट पार्टी अन्तर्गत गठित नेपाल कम्युनिष्ट पार्टी (भारत) को संस्थापक अध्यक्ष रहेका थिए ।

यसैगरी तत्कालीन नेकपाका महासचिव पुष्पलाल श्रेष्ठको अगुवाइमा काठमाडौंमा भएको कम्युनिष्ट युवाहरुको भेलाले ०१३ सालमा आचार्यलाई नेकपाको पहिलो भ्रातृ संगठन युवा संघको संस्थापक अध्यक्षमा चयन गरेको थियो ।

धनकुटाको छथरस्थित तेलिया पीपलेमा विसं १९९० मा जन्मिएका आचार्य प्रवेशिका र स्नातकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति भएको जनाइएको छ । आचार्यका तीन छोरा एक छोरी र श्रीमती छन् ।


कस्तो लाग्यो ?

यो पनि