जेठ ०६, २०८१, आइतबार
               

मुख्यमन्त्रीलाई श्रीमान् दाबी गर्ने को कुन् बालिका खड्का ?
वर्षौदेखि चलिरहेको आरोप-प्रत्यारोपको यस्तो छ अन्तर्य

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी नेकपाको पेरिसडाँडा कार्यालयबाट पार्टीकी कार्यकर्ता बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनी र मुख्यमन्त्री शेरधन राईको समबन्धको विषयमा धेरैले चासो प्रकट गरेका छन् । पेरिसडाँडास्थित नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठककक्षभित्र प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुख्यमन्त्री राई र बालिकाबीचको सम्बन्धबारे बजारमा पहिले चलेको चर्चाले पुन चर्चा पाएको छ ।

बालिका तिनै तत्कालीन एमालेको भातृ संगठनकी केन्द्रीय सदस्य हुन् जो प्रधानमन्त्रीको स्वकीय सचिवालयमा एक अधिकृतस्तरको पदमा रहेर काम गरिसकेकी महिला हुन् । त्यो मुकाम हासिल गर्न उनको पनि पार्टीमा योगदान थियो नै होला । जो कोहीले प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेर काम गर्न पाउँदैनन् । उनलाई त्यो अवसर चिठ्ठाबाट प्राप्त भएको थिएन । लामो समय विद्यार्थी संगठन हुँदै युवासंघमा काम गरेरै उनले सो अवसर पाएकी थिइन् ।

आइतबार पेरिसडाँडामा नेकपाको सचिवालय बैठक बसेको थियो । त्यहाँ नेताहरूसँग भेट्ने भन्दै प्रवेश गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए ।  यसअघि बालिकाले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हुँ भन्दै अंश माग गरी मुद्दा दायर गरेर उक्त मुद्दा फिर्ता लिएकी थिइन् । उनले गत बिहीबार मुद्दा फिर्ता लिँदै अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै फिर्ता लिएकी थिइन् । 

आइतबार नेकपाको कार्यालयमा मात्र उनले पार्टीका नेता भेट्न खोजेकी होइनन् । उनले यसअघि पटक-पटक शीर्ष नेता भेट्ने प्रयास गरे पनि कसैले उनलाई समय दिएका थिएनन् । न त उनको गुनासो नै जान्ने प्रयास गरेका थिए ।

बालिका तिनै नेकपाकी कार्यकर्ता हुन् जो केही समयदेखि आफूमाथि अन्याय भयो भन्दै पार्टीका दुई अध्यक्ष, राष्ट्रपतिको कार्यालय, युवासंघको कार्यालयमा बारम्बार पुग्ने गर्थिन्। तर, उनलाई प्रहरी लगाएर धपाइँदै आइयो । उनको मानसिक अवस्था ठिक नभएको भनियो । 

 यस्तो छ, बालिकाको आरोप

बालिकाको आरोप यो छ कि उनलाई नेकपाका नेता तथा हालका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यौन शोषण गरे । शेरधन राई निकटकाले भने, ‘बालिकाको मानसिक स्थिति ठीक नभएकाले नभएका कुरा भन्दै हिँडेकी’ दाबी गरेका छन् । 

तर, बालिका खड्का आज जुन परिस्थितिसँग जुधिरहेकी छिन् त्यसमा बालिका मात्रैको एकोहोरो दोष होला त ? धेरैको मनमा प्रश्न उब्जिएको छ । अर्काे कुरा उनको एकोहोरो कुरा सुन्दा उनको आरोप जो कसैले पत्याउन मुस्किल छ ।

२०७४ को निर्वाचनपछि राष्ट्रपति भवनमा प्रधानमन्त्रीले सपथ लिने बेलामा (फागुन ३ गते)  शेरधनले आफ्नो संवेदनशील अंगमा च्याप्प समातेको बालिकाको दाबी छ । सार्वजनिकस्थानमा भएको भनिएको उक्त घटनालाई धेरैले अपत्यारिलो मानेका छन् । 

यसका अलवा उनले शेरधनले आफूलाई मोबाइलमा म्यासेज पठाएर ह्यारेसमेन्ट गर्दै आएको उनको दाबी छ । ‘त्यो म्यासेजमा भएको कुन कन्टेन्टले तपाईंलाई ह्यारेस गर्‍यो ?’ भन्ने प्रश्नको जवाफ उनले दिन चाहेकी छैनन् । 

महिलाहरुले आफूविरुद्ध भएको यौनहिंसाको विषयमा किन खुलेर बोल्न सक्दैनन् ?’ यो जिज्ञासामा मनोविज्ञ भन्छन्, ‘सेक्सुअल ह्यारेसमेन्ट वा रिलेसनसिप भइसकेपछि महिलाहरुमा भोलि विवाह नहोला कि, भोलि अर्काे केटाले राम्रो नमान्ला कि भन्ने डरले यस्ता कुरा खुलेर भन्न सक्दैनन् । कोही पनि माहिलाले यसखाले व्यवहार देखाउँछन् भने बुझ्नुपर्छ विगतमा उनीहरुमाथि सेक्सुअल रिलेसन भएकोे हुन सक्छ ।’

बालिकालाई नजिकबाट चिन्नेहरु भने उनको स्वभावमा परिवर्तन आएको बताउँछन् ।  उनीहरु भन्छन्, ‘बालिकामा पहिलेको र अहिलेको स्वभाव फरक छ । उनी मानसिक रुपमा केही विचलितजस्तै देखिन्छिन् ।’  यद्यपि चिकित्सकहरुले भने, उनको मानसिक स्वास्थ्य नर्मल ठहर गरेका छन् । 

मानसिक रोगी भए किन गरिँदैन उपचार ?

अब अर्को एक अवस्थामा मनन गरौँ । कुनै पनि पुरुषलाई कुनै महिलाले यौनहिंसा गरेको आरोप लगायो भने त्यो पुरुषले के गर्ला ? बिनाकसुर नैतिकता पतन हुने आरोप खेप्नु पर्दा त्यो पुरुषले सहला ? वा कानुनी उपचार खोज्ला ? 

उसले जीवनभर आर्जेको नैतिकतामा खोट लगाउने ती महिलाविरुद्ध उसले तत्काल प्रतिवाद गर्छ । कसुर नगरेको अवस्थामा उसले गाली बेइजती मुद्दा तथा मानहानी मुद्दमामिला गर्छ । तर, विगतमा कुनै कसुर गरेको रहेनछ भने ऊ रक्षात्मक भएर बस्छ । यसको मतलब अहिलेसमम जेजति आरोप आयो आयो अब भने  घटना अझ बढी नलम्बियोस्, नतन्कियो भन्ने चाहन्छ ।

अहिले मुख्यमन्त्री शेरधन राईको केसमा हेर्ने हो भने उनी रक्षात्मक छन् । उनी आफ्नो ‘चरित्रहत्या भयो’ भन्न सक्ने अवस्थामा छैनन् । न त उनी बाकिलकाविरुद्ध मानहानी वा गाली बेइजतीको मुद्दा लिएर अदालत जान सक्ने अवस्था छ ।

उनीमाथि आरोप लागेको वर्षौ भएको छ, तर उनी रक्षात्मक अवस्थामा मात्रै छन् । उनको पछिल्लो अवस्थाले ‘अहिलेसम्म जे भयो,  अब यो घटना नतन्कियोस् ’ भन्ने मात्र चाहान्छन् । 

उनका नजिककाले भन्नेका छन् ‘बालिकाको मानसिक अवस्था सामान्य छैन, यसैले उनले के बोलिन् आफैँलाई थाहा छैन, मानसिक रोगीले जसलाई पनि, जे पनि आरोप लगाउन सक्छ ।’

तर, अब पछिल्लो पटक बालिकालाई प्रहरीले नियन्त्रण लिएपछि धेरैले यो समस्याको कुनै न कुनै निकास निकाल्नुपर्ने आवाज उठाएका छन् । 
नेकपाकै कतिपय कार्यकर्ताले भनेका छन्, ‘बालिकाको मानसिक अवस्था ठीक छैन भने उपचार गर्नुपर्‍यो, पार्टीमा लामो समय काम गरेकी कार्यकर्ता हुन्, पार्टीले वा पार्टीकै सरकार छ उसैको खर्चमा गर्नुपर्‍यो । या उनको मानसिक स्वास्थ ठिक छ भने उनीविरुद्ध कारबाही हुनु पर्‍यो ।’


कस्तो लाग्यो ?

यो पनि