जेठ ०६, २०८१, आइतबार
               

संविधान संशोधन गर्नुपरे खुला दिमाग र विना भड्काउ तयार हुनुपर्छ : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा अपर्याप्त देखिए संशोधनका लागि खुला दिमाग र विना भड्काउ तयार हुनुपर्ने बताएका छन् ।

संविधान दिवसको पूर्वसन्ध्यामा संविधानविद विपिन अधिकारी, कनकमणि दीक्षितलगायतले तयार पारेको ‘नेपालको संविधानको व्याख्यात्मक पुस्तक’ को विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘स्थिरताको नाममा, स्थायित्वको नाममा संविधान अपरिवर्तनशील विषय होइन । व्यवहारगत रुपमा, समाजवादलाई अगाडि बढाउने सन्दर्भमा प्रणालीगत हिसाबले होस्, संरचनात्मक हिसाबले होस्, कानुनी अप्ठ्याराका हिसाबले होस्, कुनै ठाउँमा देश र जनताको आवश्यकता औचित्यतताका आधारमा संशोधन परिमार्जन गर्नुपर्ने हुन पनि सक्दछ । त्यसका लागि हामी सबै खुला दिमाग राखेर बिना भड्काउ तयार रहनुपर्छ’ 

परिवर्तनको उपलब्धिलाई अगाडि बढाउन, न्याय समानता वा विकासलाई यथोचित ढङ्गले परिमार्जित गर्न संविधान संशोधन हुन सक्ने उनले बताए । ‘त्यस्तो पर्‍यो भने संविधान असंशोधनीय दस्तावेज होइन । संशोधनीय चिज हो’ उनले भने ।

नेपालको संविधानले कोही जन्मँदै शासक हुने, कोही रैती हुने जस्तो व्यवस्थाको अन्त्य गरेको भन्दै सरकार प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादमा जाने आधार तयार गर्नमा लागि परेको प्रधानमन्त्री ओलीले बताए ।

संविधान कार्यान्वयनका लागि संरचना र कानुन बनाउन ३ वर्ष लागेको भन्दै ओलीले बल्ल सरकार संविधानलाई व्यवहारिक रुपमा कार्यान्वयनको चरणमा आइपुगेको धारणा राखे ।

व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका आ–आफ्नो ठाउँमा स्वतन्त्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधानले यस विषयमा उन्नत प्रबन्ध गरेको जिकिर गरे ।


कस्तो लाग्यो ?

यो पनि