काठमाडौं । समुदायस्तरमै काठमाडौंमा कोरोना संक्रमण फैलिसकेको छ । कोरोना नियन्त्रण गर्न केन्द्र सरकार र स्थानीय सरकारको भूमिकामाथि प्रश्न उठिरहेको पनि छ । तर, कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले केन्द्र र स्थानीय सरकार दुवैलाई कोरोना नियन्त्रणका लागि झकझकाउँदै आइरहेका छन् ।
अघिल्लो हप्ता मात्रै बुढानिलकण्ठ नगरपालिकामा कोरोना नियन्त्रणको विषयमा छलफल गरेका थापाले आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य लगायतसँग छलफल गरेका छन् । छलफलमा थापाले ६ वटा बुँदामा सुझाब दिएको बताएका छन् । ‘कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ ।
पछिल्ला दिनमा काठमाडौँमा तीव्र रूपमा संक्रमण फैलिएको महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्नसके यो गतिलाई धेरै हदसम्म न्यून गर्न सकिन्छ,’ थापाले फेसबुकमा लेखेका छन्, ‘बढ्दो संक्रमणलाई रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा हिजो कामनपा कार्यालयमा गएर कामनपा प्रमुख र महानगरका स्वास्थ्य विभागका प्रतिनिधि लगायतसँग छलफल गरी देहायका कुरामा ध्यानाकर्षण गरेको छु।’
उनले कोरोना संक्रमणको उच्च जोखिममा रहेको काठमाडौंलाई दुर्घटनाबाट महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्वपूर्ण रहेको पनि बताए । साथै, थापाले महानगरलाई आफूले सहयोग गर्ने र महानगरपालिकाले सबै तह र निकाय गर्नुपर्ने बताएका छन्
।
‘उच्च जोखिममा रहेको काठमाडौंलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ । हामी सबै सहयोग गर्न तयार छौँ ।’ उनले भने, ‘सबै तह र निकायसँग समन्वय गर्नुहोस् । महानगरको संरचनालाई गतिशील बनाउनुहोस् । आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस् । नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो ।’
यस्तो छ थापाको सुझाब
१) ‘काठमाडौँबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस्। हामी सँगै काम गर्न चाहान्छौँ । तपाईँ सफल हुनु भनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् ।
२) महानगरभित्र कन्ट्याक्ट ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ। यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न ।
३) कन्ट्याक्ट ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्ड र टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन ।
४) अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौँका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न ।
५) खाद्यान्न पसल दिनको १–२ घण्टा मात्र खोल्न दिँदा झन् भिडभाड बढ्ने हुन्छ । त्यसैले पसल बिहान ६ देखि राति ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घर पिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने हुन्छ ।
६) कोरोना संक्रमण संग जोडिएका विभिन्न सूचनाहरूलाई लिएर नगरवासी अलमलमा परेका छन् । नगरवासी अलमलमा परेका छन् । नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सो को प्रभावकारी सम्प्रेषण गर्न ।