जेठ ०७, २०८१, सोमबार
               

'नेकपा एमाले' निर्वाचन आयोगमा दर्ता

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

निवेदन परेको झण्डै दुई महिनापछि निर्वाचन आयोगले नेकपा एमाले पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि परेको आवेदनमा आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ ।

नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् । रामेछाप गेलु निवासी रेस्लर भगवती खड्का उपाध्यक्ष छिन् ।

त्यसैगरी अर्की रेस्लर खोटाङ रातापानीकी अस्मिता सुनार प्रदेश १ को सचिव छिन् । नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रायः सबै युवायुवतीहरु छन् । तीमध्ये कतिपय पूर्व एमाले समर्थित छन् भने कोही राजनीतिक पृष्ठभूमिका छैनन् ।

पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ । कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको एक आयुक्तले बताए । उनले भने, ‘सबै प्रक्रिया पुरा भएपछि दल दर्ता गरेका हौँ, दर्तापछि सो नेकपा एमाले नेपालको एक सय ३२ औँ पार्टी बनेको छ ।’

तत्कालीन नेकपा (एमाले) र  नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएपछि नेकपा एमाले अस्तित्वमा थिएन । सोही कारण त्यो नाम जो सुकैले पनि राखेर दर्ता गर्न पाउने थियो । नेकपाको स्थायी कमिटी बैठक बसिरहेको समयमा सोही निर्वाचन आयोगमा नेकपा एमालेको नाममा दल दर्ताको निवेदन परेको थियो ।

जुन निवेदनले नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल, बामदेव गौतमसहित कतिपय नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोप लगाएका थिए ।

नेकपाको जिम्मेवारीमा नरहेका युवायुवतीलाई  राखेर पार्टी दर्ताका लागि निवेदन दिइनुमा जन-जनमा भिजेको एमालेको नाम सुरक्षित गर्ने राजनीतिक ध्येय लुकेको हुन सक्ने आशंका छ ।


कस्तो लाग्यो ?

यो पनि