जेठ ०६, २०८१, आइतबार
               

झण्डा जलाएर भिडियो बनाउनेलाई खोज्दै प्रहरी, एक जना पक्राउ
'तीन वर्ष जेल र ३० हजार जरिवाना'

ADVERTISEMENT

काठमाडौं । सामाजिक सञ्जाल युट्युबमा नेपालको राष्ट्रिय झन्डा जलाउँदै जातीय दंगा भड्काउने गीत सार्वजनिक भएको छ । मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सो गीत भदौ १ गते सार्वजनिक गरिएको हो । 

यसैबीच, मुलुकको राष्ट्रिय झण्डा जलाइएर म्युजिक भिडियो बनाउनेलाई खोजी गर्न महानगरीय प्रहरी अपराध महाशाखाले प्रहरी टोली परिचालन गरेको छ । नेपालको राष्ट्रियता एवं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरूले भरिएको गीत तयार गर्ने र भिडियो बनाउनेलाई कानुनी दायरामा ल्याउन महानगरीय प्रहरी अपराध महाशाखा तीव्र रूपमा लागेको हो । गीतलाई प्रतिबन्धित गरी त्यसमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरेपछि प्रहरीको ध्यानाकर्षण भएको हो । 

यो समाचार तयार पार्दासम्म भिडियो बनाउने समूहका क्यामराम्यान इराक लिम्बू भने पक्राउ परिसकेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए । 

यसैबीच, सामाजिक सञ्जालमा सो भिडियो शेयर नगर्न पनि महानगरीय प्रहरी अपराध महाशाखाले आग्रह गरेको छ । महाशाखा प्रमुख एसएसपी थापाले भने ‘ जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य स्वीकार्य हुँदैन । यसप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भैसकेको छ । यसलाई शेयर गरेर यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं , सामाजिक सद्भावमा आँच पुग्ने सो भिडियो अरू कसैले आफ्नो युट्युब च्यानल तथा फेसबुकलगायत समाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गर्दछु ।’

दीपक थापा, प्रमुख, महानगरीय प्रहरी अपराध महाशाखा

भिडियो छायाङ्कन भएको ठाउँ मकवानपुर देखिएको छ ।  त्यसै आसपास उनीहरू रहेको अनुमान छ । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले भने  ‘उनीहरू विरुद्ध प्रहरी टोली परिचालन गरेका छौँ, केही पक्राउ परेका छन्, केही बाँकी छन् ।’

के छ भिडियोमा  ?

युट्युबमा ‘मंगोल होप अफिसियल’ नामक च्यानलबाट भदौ १ गते सोमबार भिडियाे सार्वजनिक गरिएको थियो । गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्य छ । गीतका शब्दमा झण्डालाई महिलाको भित्री बस्त्र ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको छ ।

यस्तै ढाका टोपीलाई पनि अपमानजनक शब्द प्रयोग गरिएको छ । ‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको देखिन्छ । गीतका शब्दहरू समाचारमा उल्लेख गर्न लायक छैनन् ।

भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पृथ्वीनारायण शाह, पूर्व राजा ज्ञानेन्द्र शाहलगायतका व्यक्तित्वहरुको तस्बिर जलाइएको छ । सो भिडियो युट्युबमा हाले लगत्तै तीव्र प्रतिक्रिया आउन थालेका छन् । 

पक्राउ गरी कारबाही गर्छौं : गृह मन्त्रालय

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले बताए ।

उनले नेपाल फ्ल्याससँग भने ‘भिडियो सार्वजनिक भएसँगै यस्तो कार्य गर्नेलाई कारबाही गरिनुपर्ने माग सामाजिक सञ्जालमा चर्को रूपमा उठेको छ, यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, त्यो कार्य गर्ने गराउनेको खोजी भइरहेको छ, पक्राउ गरी कारबाही गर्छौं ।’ 

के हुन्छ कारबाही ?

राष्ट्रिय झण्डाको अपमान गर्नेलाई कारवाहीको माग चर्किरहँदा यस्तो कसुर गर्नेलाई के–कस्तो सजाय हुन सक्छ भन्ने विषयमा पनि धेरैको चासो बढेको छ । मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरेको छ । मुलुकी अपराध संहिताको दफा १५१ मा यससम्बन्धी व्यवस्था छ ।

मुलुकी अपराध संहिताको दफा १५१ मा ‘राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने’ उल्लेख गरिएको छ । 

संहिताको १५१ मा भनिएको छ, ‘राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने : (१) कसैले नेपाल वा नेपाल सरकार विरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन । (२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।’

दफामा भनिए जस्तै नेपालको झण्डा जलाउने काम युट्युबमा र्साजनीक भएको भिडियोमा भएकोले सो कार्यमा संलग्नलाई सोही अनुसार सजाय हुनेछ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि