काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा ‘प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरिएको छ ।
प्रदेशसभा भवन धनगढीमा बसेको बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सो विधयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए ।
सामाजिक विकास समितिमा दफावार छलफल भई तयार परिएको प्रतिवेदनसहितको उक्त विधेयकमाथि बैठकमा छलफल भएको थियो ।
छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य महेशदत्त जोशी, नेपाली कांग्रेसका गोविन्दराज बोहरा र जनता समाजवादी पार्टीका मालामतीकुमारी रानाथारूले भाग लिएका थिए ।
विधेयक पारित भएसँगै नेपालको संविधानमा व्यवस्था भएको नागरिकको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई सर्भसुलभ तथा प्रभावकारी बनाउन प्रदेशस्तरमा बाटो खुलेको छ ।
बैठकको प्रारम्भमा काँँग्रेसका देवराज पाठकले कञ्चनपुरको कृष्णपुर नगरपालिकाको क्वारेन्टाइनमा भएको लापरबाहीका कारण करेन्ट लागेर ज्यान गुमाएकी राधादेखि ओडका साथै प्राकृतिक प्रकोप र बस दुर्घटनमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएकी प्रदेशसभा सदस्य अम्बिकुमारी थापाको उपचार खर्चको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए ।
बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभा सदस्य भरतबहादुर खड्कालाई अर्थ विकास तथा प्राकृति स्रोत समिति, गोविन्दराज बोहरालाई सार्वजनिक लेखा समिति, कर्णबहादुर मल्ललाई सामाजिक विकास समिति र डिल्लीराज पन्तलाई सार्वजनिक लेखा समितिको सदस्यमा रही कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको जानकारी दिए ।