बैशाख १८, २०८१, मंगलबार
               

नेपाल र प्रधानमन्त्रीविरुद्ध भारतीय मिडियाको रवैया, नेपाली दूतावास मौन
सरकारले च्यानल बन्द नगरे जनस्तरबाट बहिष्कार गर्ने चेतावनी

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

भारतीय समाचार माध्यमले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भ्रमपूर्ण र अनर्गल समाचार सामग्री प्रकाशन गरे पनि नेपाली दूतावास भने मौन रहेको छ । पछिल्लो केही महिनायता लिपुलेकको विषयलाई लिएर चीनसँग जोडेर नेपालबारे अनर्गल प्रचार गर्दै आएको भारतीय मिडियाको हर्कत हद नाघेको छ । भ्रामक समाचारहरू प्रकाशन, प्रसारण निरन्तर भइरहँदा पनि दिल्लीस्थित नेपाली दूतावास भने मस्त निद्रामा छ । यस विषयमा यसले अझै चासो देखाएको छैन ।

केही दिनअघि भारतीय एक टेलिभिजन च्यानलले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीबीच काल्पनिक कथा रचेर प्रायोजित रिर्पोट प्रसारण गरेको थियो । जी टिभीले ओली र राजदूत होऊ यान्छीको हनी ट्र्यापिङ भन्दै १६ मिनेट लामो कार्यक्रम प्रसारण गरेको थियो ।

‘ओली कि ईश्कीया’ शीर्षकमा प्रसारित कार्यक्रम अहिले सामाजिक सञ्जालमा भाइरल छ । चिनियाँ राजदूत होऊ यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै टिभीले उनैको जालमा फसेर ओलीले भारत विरोधी कदम चालिरहेको दाबी गरेको छ । ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढाइ, लेकिन वा हनि ट्र्याप मे फसगए ’ आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ । 

राजदूत होऊ यान्छीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरूमाथि दाबी गरेको रिर्पाेटमा भनिएको  छ । त्यसैले, नयाँ नक्सा जारी गरेको आरोप लगाइएको छ । यसलाई पुष्टि गर्न ओली र यान्कीको फोटो जोडेर केही काल्पनिक संवादहरू पनि सुनाइएको छ । कुनै अमुक देशका प्रधानमन्त्री र महिला राजदूतबीच काल्पनिक कथा रचेर प्रायोजित रिपोर्ट बनाउनु सो मिडियाको अक्षम्य अपराध हो । यसमाथि नेपाल सरकारले एक्सन लिनैपर्छ ।

केही समयअगाडि नेपालमा एक अखबारले माओत्सेतुङको तस्बिरमा मास्क लगाइदिएको कार्टुन प्रकाशन गरेको थियो । जुन कार्टुन नेपाली मिडियाले बनाएको नभई विदेशी मिडियामा आएको सामाग्री साभार गरिएको थियो । जुन सामान्य घटना थियो । तर, काठमाडौंस्थिति चिनियाँ दूतावासले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको थियो ।

उसले आपत्ति मात्र जनाएन त्यो गर्नेलाई कारवाहीको समेत माग गरेको थियो । अहिले नेपाल र नेपालका प्रधानमन्त्री विरुद्ध भारतीय जीटीभीको हर्कत त्योभन्दा सयौँ गुणा आपत्तिजनक छ । तर, दिल्लीस्थित नेपाली दूतावास भने भारतीय मिडियाले एकपछि अर्को कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशन प्रसारण गरिरहँदा नेपाल सरकार वा नेपाली दूतावास कसैले  कुनै प्रतिक्रिया देखाएको छैन ।

 भारतीय मिडियाले नेपालबारे निरन्तर कुप्रचार तथा भ्रामक समाचार प्रसारण गर्दा पनि भारतस्थित नेपाली दूतावासले कुनै प्रतिक्रिया नदिएको भन्दै सामाजिक संजालमा आक्रोश व्यक्त गर्नेहरु धेरै छन् ।

यस्तै, भारतको टाइम्स अफ इन्डियाजस्तो प्रतिष्ठित पत्रिकाले समेत नेपालका प्रधानमन्त्रीको तस्बिर दुरुपयोग गरेको छ । ओलीको टाउको गोरुको शरीरमा जोडेर प्रकाशन गरेको  छ । पछिल्लो समय नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र बढेका कलहलाई भारतीय मिडियाले मुख्य खबर बनाइरहेको छ । नेकपाको स्थायी कमिटी बैठक बोलाइनु र स्थगित हुनुलाई उनीहरूले ब्रेकिङ न्युज भन्दै दिइरहेका छन् । पार्टीभित्रबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ ।

यो विकास क्रमलाई लिएर भारतीय मिडियाहरू निकै उत्साहित छन् । उनीहरूले नयाँ नक्सा पारित गरेकै कारण ओलीको पद सङ्कटमा परेको विश्लेषण सुनाइरहेका छन् । केही समयअघि काठमाडौँमा कोरोना परीक्षणको दायरा बढाउन माग गर्दै गरिएको आन्दोलनलाई पनि भारतीय मिडियाहरूले नक्साको विरोध गरिएको भनेर दुष्प्रचार गर्न भ्याएका थिए । त्यसलाई उनीहरुले अझै दोहोर्या‍इरहेका छन् ।

भारतीय न्युज च्यानल बन्द गर्न माग
आफ्नो नाङ्गो रूप देखाएका भारतीय टेलिभिजन तथा अनलाइन संस्करणमा प्रकाशित प्रसारित सामाग्रीबारे धेरैले सामग्री सञ्जालबाट आक्रोश पोखेका छन् । नेपालीले पैसा तिरितिरी भारतीय मिडियाका ‘फेक न्युज’ हेर्नुपरेको भन्दै ती च्यानलहरू बन्द गर्नुपर्ने मत सामाजिक सञ्जालमा बढेको छ । धेरेले लेखेका छन्  ‘हाम्रै विषयमा भ्रमपूर्ण समाचार हामीले नै पैसा तिरितिरी किन हेर्ने ? यी भारतीय न्युज मिडियालाई नेपालमा सदाका लागि रोक लगाऔँ । ’

आफैँलाई नङ्ग्याए : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतीय सञ्चारमाध्यमले आफैँलाई नंग्याइरहेको टिप्पणी गरेका छन् । ट्विट गर्दै मन्त्री भट्टराईले भारतीय सञ्चारमाध्यमले पूर्वीय सभ्यताकै उपहास गरिरहेको उल्लेख गरेका छन् । उनले ट्विट गरेका छन्, ‘नेपालका प्रधानमन्त्री,  नेपाली नेताहरू र नेपालको सवालमा भारतीय सञ्चारमाध्यममा आइरहेका समाचार तथा टिप्पणी हेर्दा लाग्छ पूर्वीय सभ्यताको उपहास भइरहेको छ । उनीहरूले आफैँलाई सरेआम नङ्ग्याइरहेका छन् । दया लाग्छ उनीहरूको चिन्तनप्रति ! ’

बकवास बन्द गर : नेकपा प्रवक्ता

यसअघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भारतीय मिडियालाई यस्ता हर्कत बन्द गर्न आग्रह गरेका थिए । उनले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा गरिएका अनर्गल प्रचारप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले भनेका छन्, ‘भारतीय सञ्चारमाध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर ।’ 

श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरू एक ढिक्का रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौँ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’


कस्तो लाग्यो ?

यो पनि