बैशाख २२, २०८१, शनिबार
               

महानिरीक्षक थापा अपरेशन र कमाण्ड कन्ट्रोलमा बलिया, राजनीतिक समन्वयमा कमजोर

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

 

अपरेसन र कमाण्ड कन्ट्रोलमा बलिया अफिसरका रुपमा थापा चिनिन्छन् । उनी राजनीतिक समन्वयमा भने त्यति पोख्त नभएको अरू अधिकृतहरू बताउँछन् । 

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षत्री नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा भएका छन् । पछिल्लो पटक निर्विवाद रुपमा नियुक्त हुने उनी दोस्रो आइजीपी हुन् । बुधबार अवकास पाउन लागेका ठाकुर प्रसाद ज्ञवाली पनि माघ २८ मा निर्विवाद नियुक्त भएका थिए । त्यसअघिका अधिकाश आईजीपी नियुक्त विवादित मात्र छैनन्, नेपाल प्रहरीको संगठनमा कलंकित घटनासम्म भएका छन् । राजनीतिक चलखेल, हस्तक्षेप र शक्तिकेन्द्र धाउने परम्पराका कारण विगतका धेरै आइजीपी नियुक्त विवादित बने । 

विगतमा प्रहरीको महानिरीक्षक नियुक्तिको विवादले संगठन नै बदनाम हुने गरेको थियो । ठाकुरअघि सर्वेन्द्र खनाल महानिरीक्षकमा नियुक्ति हुँदा प्रतिष्पर्धी डीआईजी रमेश खरेलले राजीनामा दिएका थिए । त्यसपछि दोस्रो वरीयतामा रहेका एआईजी पुष्कर कार्कीलाई पनि खनालले सँगै लिएर अघि बढ्न सकेनन् । अवकाश पाउने अन्तिम दिनसम्म पनि दुईबीच राम्रो सम्बन्ध स्थापित हुन सकेन ।

यसअघि प्रकाश अर्याल आईजीपी भएका बेला प्रहरीले सबैभन्दा बढी बदनामी व्यहोर्नुपर्‍यो । जयबहादुर चन्दलाई सरकारले आईजीपीमा बढुवा गरेसँगै प्रतिष्पर्धी नवराज सिलवालले अदालतमा मुद्दा दायर गरे । त्यसपछि सरकारले तेस्रो वरीयताका अर्याललाई नेतृत्व सुम्पियो । सिलवालले पुनः आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिए । तर अदालतले खारेज गरिदिएसँगै सिलवालले राजीनामा दिए ।

त्यसअघि उपेन्द्रकान्त अर्यालकाे पालामा प्रतिष्पर्धी राजेन्द्रसिंह भण्डारी प्रहरी प्रधान कार्यालय नै टेकेनन् । उनले बाँकी कार्यकाल राष्ट्रिय सुरक्षा परिषद‍्मा बिताएका थिए ।

यस्तो छ आईजीपी थापाको विगत

प्रहरीको २८ औं आइजीपीको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए । थापा र पाल एकै दिन सेवा प्रवेश गरेर बढुवामा पनि सँगसँगै थिए । वरीयतामा पहिलो नम्बरमा रहेका क्षत्रीलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको हो । नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । ५२ वर्षीय थापा प्रहरीभित्र व्यावशायिक अधिकृतका रुपमा चिनिन्छन् । 

सेवाको २८ वर्षसम्म उनले फिल्डभन्दा प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा बिताएका छन् । प्रहरी अधिकृतहरूका अनुसार संगठनमा थापाको बौद्धिक र इमान्दार अधिकृतको छवि रहेको अधिकृतहरू बताउँछन् । उनीहरू भन्छन् “थापा अपरेसन र कमाण्ड कन्ट्रोलमा बलिया अफिसरका रुपमा थापा चिनिन्छन् । तर राजनीतिक समन्वयमा भने त्यति पोख्त छैनन् । त्यो प्रभाव उहाँ रानीपोखरीमा कार्यरत रहदा पनि देखिएको थियो ।''

प्रहरी निरिक्षकबाट सेवा प्रवेश गरेबाटै उनी आफ्नो ब्याचको पहिलो नम्बरमा रहन सफल भए । थापा राजनीतिक लबिङबिनै संगठनले माया गरेर वरियतामा अगाडि बस्न सफल अधिकृत भएको संगठनका अधिकृतहरूको बुझाइ छ । कार्यक्षेत्रमा प्रस्तुत गरेको क्षमताका हिसाबमा उनले आफूलाई अब्बल अधिकृतका रुपमा चिनाउन सफल भएका हुन् ।

थापाको व्यवसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ । उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन् । इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोक, एकडेमी र सचिवालयमा काम गरेका छन् ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमाण्ड गरेका छन् भने एकडेमी र सचिवालयमा पनि बसेका छन् । प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि उनी कास्की र झापा जिल्ला प्रहरी प्रमुख बने । प्रहरी एकडेमी, विशेष ब्युरो र सचिवालयमा पनि बसे । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएपछि प्रहरी प्रधान कार्यालयको प्रवक्ता भए ।

प्रवक्ता हुँदै डीआईजी भएका उनले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व पनि सम्हालेका थिए । एआईजीका रुपमा पछिल्लो पटक उनले मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व गरेका छन् । थापाका  बुबा शम्भु थापा २०५१/०५२ ताका डीआईजीबाट अवकाश पाएका प्रहरी अफिसर हुन् ।


कस्तो लाग्यो ?

यो पनि