काठमाडौं । प्रतिनिधिसभाबाट लोकसेवा विधेयक २०७६ र सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) विधेयक पारित भएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले दुवै विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
दुवै विधेयक प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकी थिइन् ।
कानुन मन्त्री शिवमाया तुम्बेहाङफेले लोकसेवा विधेयकले सरकारी सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायतका लागि लिइने लिखित परीक्षाको विधि र प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन तथा सेवामा विभेदको अवस्था नहोस् भन्ने जस्ता विषय समेतको जानकारी दिइन् ।
त्यसैगरी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले तीन तहको राज्य व्यवस्थामा लोकसेवा आयोगको विधेयक सान्दर्भिक भएको बताउँदै संवैधानिक आयोगको विश्वसनीयता र निष्पक्षतालाई जोड दिनुपर्ने बताए ।
त्यसैगरी, कानुन मन्त्री शिवमाया तुम्बाहाफेले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बधको विधेयकबारे उठेका प्रश्नको जवाफ दिदैँ मन्त्री डा तुम्बाहाङ्फेले संविधानमै व्यवस्था भएको सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार उपयोग र प्रभावकारिताका लागि विधेयकले प्रावधान समेटेको बताइन् ।
यसका साथै, उनले यसको कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
विधेयकले तीन तहको सरकारको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न विशेष ध्यान दिएको उनले उल्लेख गरिन् ।