राष्ट्रियसभा सदस्य रामनारायण विडारीले धेरै सरितालाई नागरिकता दिएर मन्त्री बनाउन नसकिने बताएका छन् ।
राष्ट्रियसभाको विशेष समयमा बोल्दै विडारीले नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभए पनि धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको बताएका हुन् ।
‘विदेशीसँग विवाह गर्न पाइन्छ । केको भारतसँग मात्रै क्यानडा गएर गर्नु, त्यो पनि नेपालले दिन्छ । अमेरिका गएर गर्नु त्यो पनि नेपालले दिन्छ,’ उनले भने, ‘अब हामी धेरै सरिताहरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री बनाउने सांसद बनाउने मेलोमा छैनौँ । यति कुरा ढुक्कसँग जान्नु है ।’
अब भारतले छोरी दिँदैन भनेर ठ्याउठ्याउ गरेर केही नेताहरु कराएको बताउदै उनले सांसद मन्त्री हुन विहे गर्नुपर्ने परम्परा अन्त्य गर्नुपर्ने बताए ।
उनले भने, ‘दक्षिण एसियामा कुनै पनि देश छैन निःसर्त ड्याम्म बिहे गर्यो, ठ्याप्प नागरिक भयो, ठ्याक्क सांसद भयो, ट्याक्क मन्त्री भयो यस्तो छैन दक्षिण एसियामै छैन् । ’