जेठ ०२, २०८१, बुधबार
               

रुकुम घटनाः संसदीय समितिद्वारा सरोकार पक्षसँग छलफल

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको छानबिनका लागि सरकारले गठन गरेको संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट तथा छलफल गरेको छ । घटनाको छानबिनका लागि सदरमुकाम मुसीकोट पुगेको टोलीले जिल्लाका राजनीतिक दल, अधिकारकर्मी, पत्रकारलगायतसँग बिहीबार छलफल गरेको हो । 

उक्त समितिले गत जेठ १० गते छ जनाको मृत्यु भएको सोती घटनाका सम्भावित कारण, त्यसले उब्जाएको परिस्थितिलगायत घटनासंँग सम्बन्धित समसामयिक विषयवस्तुमा जिल्लास्थित सरोकार भएकाहरुको विचार एवं राय बुझ्नाका साथै सल्लाह–सुझावसमेत लिएको छ । सरोकार पक्षले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि चाल्नुपर्ने कदमका बारेमा सुझाव दिएको थियो भने  समितिले यस्ता घटना हुन नदिनका लागि सरकारलाई आवश्यक सुझाव दिनुपर्नेमा जोड दिएको थियो ।

प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिका सबै सदस्य सम्मिलित टोली जाजरकोट हुँदै घटनास्थल सोती गाउँ पुगेर सदरमुकाम मुसीकोट पुगेको हो । 

टोलीले जाजरकोटमा पीडित परिवारसंँग भेट गर्नाका साथै त्यहाँका सुरक्षा निकायलगायत सरोकार पक्षसँग पनि छलफल गरेको थियो । त्यसपछि टोलीले घटनास्थल सोती गाउँमा पुगेर घटनाको स्थलगत अवलोकन तथा स्थानीयवासीसंँग घटनाका बारेमा जानकारी लिएको थियो । 

सोती घटनाको छानबिनका लागि प्रतिनिभिसभाले सांसद  पौडेलको संयोजकत्वमा ९ जना सदस्यीय विशेष छानबिन समिति गठन गरेको छ । समितिका सदस्य एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुुन्के, प्रकाश रसाइली, विमला विक, महेश्वरजङ्ग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादवलगायतको टोली घटनाको छानबिनका क्रममा रुकुम पश्चिममा छ । 

यसअघि घटनाको छानबिनका लागि गठित गृह मन्त्रालयको टोलीले घटनाको स्थलगत छानबिन गरी काठमाडौंं फर्केर सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । सोतीमा भएको घटनामा जाजरकोटको भेरी नगरपालिकाका पाँच र  चौरजहारी नगरपालिकाका एक गरी ६ युवाको ज्यान गएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ । तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परेका छन् भने पाँच जना  फरार छन् । बिहीबार प्रतिवादीको बयान सकिएपछि आजरदेखि अदालतमा उनीहरुको थुनछेक बहस सुरु हुँदै छ ।


कस्तो लाग्यो ?

यो पनि