जेठ ०२, २०८१, बुधबार
               

राम्ररी पढेरमात्र एमसीसीबारे धारणा बनाउन प्रधानमन्त्रीको सुझाव

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सर्वाधिक विवादमा रहेको एमसीसीबारे राम्ररी पढेर धारणा बनाउन आग्रह गरेका छन् । 

राष्ट्रिय सभामा बोल्दै बिहीबार उनले एमसीसीका आलोचकलाई यस्तो आग्रह गरेका हुन् । 

यसका अलवा उनले एमसीसीबारे बाहिर हल्ला गरिएजस्तो नभएको पनि बताएका छन् । 

साथै, उनले एमसीसी राम्ररी नपढेकाहरुले नेपालमा अमेरिकी सेना आउने भनी हल्ला चालएको बताए । 

‘एमसीसी सम्झौतै नपढी अमेरिकी सेना आउँछ भनेर हल्ला गरियो,’ उनले भने । 

सभामा बोल्दै  उनले एमसीसीका आलोचकहरुलाई कागले कान लग्यो भन्दैमा पछि पछि दगुर्ने भन्दै  प्रश्न गरेका छन् ।

उनले भने, ‘केही केहीहरूले हल्ला चलाएका छन्, एमसीसी पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेका मान्छे त्यति भेटिनँ ।’ 

साथै, उनले  संघीय संसदको प्रतिनिधिसभामा दर्ता भएको एमसीसीलाई पढेर मात्रै बोल्न सुझाव दिएका छन् । 

‘एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्नेभन्दा हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन? खुट्टाले टेक्न छोडेर टाउकाले र हातले टेकेर हिँड्न भएन । जे प्रबन्ध छ त्यसमा भएको ठिक बेठिक छुट्याएर भने हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘लहैलहैमा अमेरिकी सेना आउने भयो भनेको छ । कहाँ पढ्छन् ? के पढ्छन्,’ उनले भने । 

उनले मुलुकमा वैदेशिक लगानी आउन लागेको र विकास हुन लागेकोमा चिन्ता भएकाहरुले एमसीसीको विरोध गरेको बताए । 

उनले भने, ‘कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ? यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ?’

यसअघि प्रधानमन्त्रीकै दलका वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल र परराष्ट्रमन्त्रीसमेत रहेका युवराज ज्ञवाली रहेको तीन सदस्य एमसीसी अध्ययन समिति बनेको थियो । 

सो समितिले एमसीसी पास गर्न नहुने सुझाव सरकारलाई दिएको थियो । 

सो विषयमा अहिले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाललगायत नेता विपक्षमा छन् । तर, यस विषयमा पार्टीमा मध्यस्थताको भूमिका निर्वाह गर्दै अएका वरिष्ठ नेता माधव नेपाल भने यस विषयमा मौन छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै दलका नेताले दिएको सुझवविपरीत बिहीबार राष्ट्रिय सभाको बैठकमा अभिव्यक्ति दिएका हुन् ।

यो पनि