काठमाडौं । परराष्ट्र मन्त्रालयले इ–पासपोर्ट छपाइको म्याद थप गरेको छ ।
परराष्ट्र मन्त्रालयले गत फागुनमा गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानको म्याद दोस्रोपटक थप भएको हो ।
लकडाउनका कारण बोलपत्रमा सहभागी हुने कम्पनीलाई कठिनाइ भएको भन्दै थप एक महिना म्याद थप गरेको जनाइएको छ ।
पूर्ववत प्रबन्ध अनुसार नवीकरण भएको बोलपत्रमा ३ वर्षको अवधिमा २० लाखप्रति एमआरपी उत्पादन गर्नुपर्ने सर्त राखिएको छ राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।
‘कोरोना सन्त्रास र लकडाउनका कारण दुई महिनायता एमआरपी वितरणको कार्य बन्द गरिएकोमा असार १ बाट फेरि नियमित काम सुरु भएको छ,’ उनले भने, ‘विगतमा दैनिक दुई हजारसम्म एमआरपी बनाउन सेवाग्राही आउने गरेकोमा अहिले एक सय मात्र सेवाग्राही आउन थालेका छन् ।’
त्यसैगरी, उनले अब ५ लाख २० हजार एमआरपी मात्र मौज्दातमा रहेको बताएका छन् ।
इ–पासपोर्ट छपाइको बोलपत्रमा चीन, फ्रान्स, युएई, सिंगापुर, जर्मनीलगायत मुलुकले प्रतिस्पर्धा गर्न सक्ने आकलन परराष्ट्र मन्त्रालयले गरेको छ ।
स्रोतका अनुसार, अहिले नेपाललाई एमआरपी सेवा प्रदान गरिरहेको कम्पनी ओबरथर(हाल नाम परिवर्तित) र पछिल्लो समय सेक्युरिटी प्रिन्टिङ प्रेसमा जोडिएर विवादमा आएको फ्रेन्च कम्पनी इन–गु्रपसहितले बोलपत्र प्रतिस्पर्धा गर्दैछन् ।